अफगानिस्तानमा पछिल्लो समय भिडन्त, गोली हानाहान र बिस्फोटका समाचार आइरहेका छन्। अमेरिकी र अन्य नाटो राष्ट्रका सैनिकहरू फिर्ता भएपछि अतिवादी विद्रोही समूह तालिबानले अफगानिस्तानमा प्रभाव बढाउँदै लगेको छ। हरेक दिन नयाँ ठाउँमा उनीहरू कब्जा जमाइरहेका छन्।
धेरै ग्रामीण इलाकामा नियन्त्रण जमाए पनि तालिबानहरूलाई सहरका सुरक्षाकर्मीलाई परास्त गर्न भने हम्मेहम्मे परिरहेको छ। केही प्रान्तीय राजधानीमा अहिले पनि भिडन्त भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
लामो समयदेखि तालिबानसँग लडिरहेका अफगान सुरक्षाकर्मीलाई पछिल्लो समय नयाँ सहयोद्धा मिलेका छन्। ती सहयोद्धा हुन्- अफगानी जनता।
गत सोमबार साँझ पश्चिमी अफगानिस्तानको हेरात सहरका अहमदुल्लाह अजादानी घरको छतमा उक्लिए। छतमा उनी यस्तो कुराको प्रतीक्षा गरिरहेका थिए जुन एक साताअघिसम्म कल्पना गर्न मुस्किल थियो।
यो प्राचीन सहरमा केहीबेरमा एउटा आवाज गुन्जायमान भयो- अल्लाहु अकबर!, अल्लाहु अकबर! अर्थात् ईश्वर महान् हुनुहुन्छ! ईश्वर महान् हुनुहुन्छ!
केही महिनाअघि राजधानी काबुलबाट घर फर्किएका अजादानीले झन्डै ६ लाख मानिसको बसोबास रहेको हेरातमा एकसाथ अल्लाहु अकबर आवाज गुन्जिएको पहिलो पटक सुनेका हुन्।
‘मैले यसअघि कहिल्यै पनि मानिसहरू यसरी सरकारी सुरक्षाकर्मीको समर्थनमा आएको देखेको थिइनँ,’ उनले अलजजिरा टेलिभिजनसँग भनेका छन्।
अजादानीजस्ता युवाले यस्तो घटना कहिल्यै नदेखेका भए पनि उनका बुवाआमा पुस्ताका लागि भने इतिहास दोहोरिएको छ।
सन् १९८० को दशकमा पहिला कम्युनिष्ट शासन र त्यसपछि सोभियतले गरेको उपनिवेशविरूद्ध उनीहरूले पनि यसरी नै भगवानलाई सम्झिएका थिए।
‘यो घटनाले कम्युनिष्ट शासन भोगेकाहरूलाई ती दिनको याद दिलाएको छ भने हामीजस्ता युवालाई यसअघि पनि यस्ता घटना भएका थिए भन्ने थाहा भएको छ,’ अजादानीले भने।
केहीबेरमा सामाजिक सञ्जाल अफगानिस्तानका अन्य सहरमा र विदेशमा रहेका अफगानीले अल्लाहु अकबर भनेको भिडिओ सार्वजनिक गरे।
मंगलबार बिहान अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पनि उक्त अभियानमा समर्थन जनाए।
मंगलबार राति राजधानी काबुलका नागरिकले पनि यस्तै गरे।
मंगलबार राति स्थानीय समयअनुसार ८ बजेतिर अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री बिसमिल्लाह मोहम्मादीको काबुलस्थित आवासमा आक्रमण भयो। केही मानिसहरू मारिए।
त्यसको केहीबेरमा काबुलमा पनि हेरातको जस्तै आवाज गुन्जियो- अल्लाहु अकबर!
भर्खरै भएको कार बिस्फोट र सुरक्षाकर्मीले आक्रमणकारीविरूद्ध चलाएका गोलीको आवाजबीच काबुलबासीले विरोध जारी राखे। एकोहोरो सुनिएको अल्लाहु अकबरमा महिला, बालबालिका र वृद्धवृद्धाको आवाज पनि मिसिएको थियो। युवाहरू अफगानिस्तानको झन्डा बोकेर सडकमा निस्किएका थिए। उनीहरूले झन्डै ४० मिनेटसम्म सहरलाई गुन्जायमान पारे।
काबुलसँगै नान्गारहार, खोस्त, कुनार र बमियान प्रान्तका मानिसले यसरी नै तालिबानको विरोधमा एकसाथ भगवानको नाम लिए।
मध्यपूर्व र इस्लामको इतिहासका विज्ञ अफगान-अमेरिकी प्राध्यापक अलि ए ओलोमी तालिबानविरूद्ध अफगानीहरूले अल्लाहु अकबर शब्द रोज्नुको पछाडि गहिरो सन्देश रहेको बताउँछन्।
‘परिस्थिति विजयको होस् वा हारको जस्तो भए पनि ईश्वर ती सबैभन्दा माथि छन् भन्ने घोषणा हो। यो दमनविरूद्ध प्रतिरोधको आवाज हो,’ उनले भनेका छन्,‘कठिन परिस्थितिमा पनि ईश्वरले जित्न सक्छन्। विजयका बेला यो विनम्रता र अनुग्रहको स्मरण हो। हारमा यो आशा र प्रतिरोधको घोषणा हो,’ अल्लाहु अकबरको महत्वबारे उनले भने।
तालिबान समर्थित सामाजिक सञ्जाल अकाउन्टहरूमा मानिसहरूले आफ्नो समर्थनमा यस्तो गरेको दाबी पनि गरिएको छ। तर अजादानीले त्यस्तो हुनै नसक्ने बताए।
'मैले मानिसहरूसँग कुरा गरेको छु। म यहाँ बस्छु। म ढुक्क भएर भन्न सक्छु कसैले पनि तालिबानका लागि यस्तो गरेका होइनन्,’उनले भनेका छन्,‘तालिबानहरूका लागि यो स्पष्ट सन्देश हो कि हामीलाई तिमीहरू चाहिन्नौ।’
कतिपय विश्लेषकहरूले भने विदेशी सेना फर्किएको छ महिनाभित्रै असरफ घानीको सरकार ढल्ने विश्लेषण गरेका छन्। गाउँमा कब्जा जमाएको तालिबानले बिस्तारै सहरमा आक्रमण गर्ने र युद्धबाट अहिलेको शासन व्यवस्था फाल्ने सम्भावना उनीहरूले औंल्याएका छन्। तालिबानहरू पनि त्यही चाहन्छन्। यही हो मौका भनेर उनीहरूले अहिले विभिन्न ठाउँमा आक्रमण तीव्र पारेका छन्।
हिंसात्मक आक्रमणबाट मात्रै सत्ता कब्जा गर्न भने तालिबानलाई मुस्किलजस्तो देखिन्छ। किनकी तालिबान र अफगान सुरक्षा फौजको तुलना गर्दा उनीहरूबीच संख्या, क्षमता र स्रोतको ठूलो फरक छ।
एक अमेरिकी रिपोर्टअनुसार गत अप्रिलसम्म अफगान सैनिक, विशेष बल, हवाई सैनिक र गुप्तचर गरी ३ लाख ७ हजार सुरक्षाकर्मी छन्। यसको अर्थ हरेक दिन १ लाख ८० हजार सैनिक लडाइँका लागि उपलब्ध हुन्छन्। तालिबानको जनशक्ति ठ्याक्कै कति हो भन्ने यकिन छैन तर उनीहरूका लडाकुको संख्या ५५ देखि ८५ हजारसम्म हुन सक्ने अनुमान गरिएको छ।
अफगानिस्तान सैनिकलाई स्रोतको पनि अभाव हुने देखिन्न। संसारको गरिब मध्येको एक मुलुक अफगानिस्तानका सुरक्षाकर्मीका लागि विभिन्न मुलुकले सहयोग गर्छन्। तीमध्ये सबैभन्दा ठूलो दाता संयुक्त राज्य अमेरिका हो। अफगान सुरक्षा फौजका लागि वार्षिक ५ देखि ६ अर्ब डलर खर्च हुन्छ। अमेरिकाले यो खर्चको लगभग ७५ प्रतिशत व्यहोर्दै आएको थियो र उसले अझै पनि सहयोग जारी रहने बताएको छ।
तालिबानहरूले कसरी स्रोत जुटाउँछन् भन्ने प्रष्ट छैन। संयुक्त राष्ट्र संघको नियमनअनुसार उनीहरूको वार्षिक आम्दानी ३० करोडदेखि साढे १ अर्ब डलरसम्म छ।
उनीहरूले लागुऔषधको व्यापार, लुटपाट, आफूले नियन्त्रणमा लिएका क्षेत्रमा कर लगाएर पैसा जम्मा गर्छन्।
पाकिस्तान, इरान र रूसमाथि तालिबानलाई सघाएको आरोप छ तर तीनै देशले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।
हतियार र अन्य स्रोतमा पनि तालिबानभन्दा अफगान सुरक्षाकर्मी निकै अघि छन्। अफगान सुरक्षा फौजलाई बलियो बनाउन अमेरिकाले अर्बौं डलर खर्च गरेको छ। अफगान फौजसँग पश्चिमा मुलुकमा बनेका अत्याधुनिक हतियार छन्, नाइट भिजन गगल्स, बख्तरबन्द गाडी, आर्टिलरी र साना ड्रोनहरू छन्।
तालिबानले कहिल्यै बनाउन नसक्ने हवाई फौज पनि सरकारसँग छ। अफगानिस्तान सुरक्षा फौजसँग अहिले १६७ वटा जहाज र हेलिकप्टर छन्।
तालिबानहरूले भने धेरै आक्रमण आत्मघाती गर्छन्। उनीहरूसँग साना र सोभियत कालमा बनेका एके-४७ लगायतका हतियार छन्। उनीहरूले कालोबजारी गरेर ल्याइएका केही हतियार पनि किनेका छन्। त्योसँगै तालिबानसँग मेसिन गन, रकेटबाट हान्न मिल्ने ग्रिनेड पनि छन्। सुरक्षा फौजबाट हतियार पनि उनीहरूले लुटेका छन्।
आत्मबल र एकतामा भने सरकारी सुरक्षाकर्मीभन्दा तालिबान अगाडि छन्। वर्षौंदेखि भइरहेको हताहती, भ्रष्टाचार अहिले विदेशी सैनिक फर्किएपछि अफगान सुरक्षाकर्मीको आत्मविश्वास कमजोर भएको छ। उता आन्तरिक विवाद भए पनि तालिबानको मनोबल यसपालि उच्च छ। उनीहरू विश्व शक्ति राष्ट्र अमेरिकाले हारेको र आफूहरूले जितेको न्यारेटिभ्स स्थापित गर्न लागि परेका छन्।
२० वर्षसम्म तालिबान बिनाको अफगानिस्तानमा बाँचेका अफगानहरूलाई तालिबान मुस्लिम अतिवाद मन परेको छैन। अहिले नै आफूले नियन्त्रणमा लिएका ठाउँमा तालिबानले महिलाहरूले पुरूष सहयोगीबिना बजार नजान र किशोरीहरूलाई स्कुल नपठाउन उर्दी जारी गरिसकेको छ।
सरिया कानुनअनुसार शासन चलाउने तालिबानले अबका केही महिना सत्ता कब्जा गर्न आक्रमणलाई तीव्रता दिने निश्चित छ।
(अलजजिरा टेलिभिजनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।)