सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच मौसमजन्य विपत्तिले देशभर परेको प्रभाव न्यूनीकरणका लागि चाल्नुपर्ने उपायका बारेका छलफल भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा मौसमजन्य विपत्तिलाई सदनमार्फत् कसरी न्यून गर्ने भन्नेबारेमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा केन्द्रित भएर कुराकानी भएको बताइएको छ।
यस वर्षको मनसुन सुरू भएलगत्तै सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ।
उनीहरूबीच मनसुन जारी रहेकाले सिन्धुपाल्चोक लगायतका बाढी प्रभावित जिल्लामा नदी कटान नियन्त्रणका लागि चाल्नुपर्ने उपायका बारेमा सरकारी प्राथमिकताका के-कस्तो हुने भन्नेमा छलफल भएको हो।
सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने ठूलो जनसङ्ख्या यस वर्षको अप्रत्यासित बाढी पहिराका कारण विस्थापित भएको छ।
सभामुख सापकोटाले संसद्को चालू अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरिसकेका छन्। रासस