नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुम्बासी बन्ने प्रक्रिया शुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्य गौतमले सबै भूमिहीनलाई जनही पाँच/पाँच कट्ठा पनि जमिन दिन नसकिने भएकाले जमिन नहुनेलाई रोजगारी दिएर समृद्धितर्फको यात्रा प्रारम्भ गर्न सकिने सुझाए।
विसं २०५१ देखि हालसम्मका विभिन्न सरकारले पटकपटक सुकुम्बासी आयोग गठन गरेर जमिन बाँड्ने योजना सफल नभएकाले यो बाटो वैज्ञानिक नभएको उनको तर्क छ।
‘जमिनमाथि व्यक्तिको स्वामित्व रहेसम्म एकथरी मानिस धनी र जमिन नहुने गरिब तथा भूमिहीन हुँदै जानेछन्। त्यसकारण टुक्राटुक्रा पारिएको जमिन राज्यले बैंक ग्यारेन्टी गरेर खरिद गर्नुपर्छ र उपयोग गर्नुपर्छ, अन्यथा भूमिहीन र सुकुम्बासीको समस्या कायमै रहनेछ,’ उनले भने।