अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल प्रवेश गरेका छन्।
आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण सहर जलालावाद कब्जामा लिएका तालिबानहरू दिउँसो राजधानी काबुल पुगेका हुन्।
सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार तालिबान लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा पुगेका छन्।
काबुल पस्नुअघि तालिबानहरूले आजै नजिकैका दुई प्रान्तीय राजधानी पनि कब्जामा लिएका छन्।
पछिल्लो एक सातामा तालिबानले लगभग देशका प्रमुख सबै सहर कब्जा गरेका छन्। अब उनीहरू राजधानी काबुल कब्जा गर्ने उद्देश्यले अघि बढिरहेका छन्।
यसैबीच आइतबार दिउँसो एक वक्तव्य जारी गर्दै तालिबानले आफूहरू भिडन्त गर्दै काबुल नपस्ने बताएका छन्।
शान्तिपूर्ण तरिका काबुल पस्नेबारे कुरा भइरहेको तालिबानको भनाइ छ। साथै कुनै पनि नागरिक र सैनिकहरूविरूद्ध आफूले बदला नलिने बरू उनीहरूलाई माफी गरिएको तालिबानको विज्ञप्तिमा उल्लेछ।
तालिबानहरू काबुल पसेका बेला संयुक्त राज्य अमेरिकाले भने आफ्नो राजदूतावासका कर्मचारीहरूलाई हेलिकप्टरबाट हमिद कारजाई विमानस्थलमा पुर्याएको छ। उक्त विमानस्थलको सुरक्षामा अहिले पनि अमेरिकी सैनिक खटिएका छन्।
तालिबानले ढिलोचाँडो काबुल कब्जा गर्ने देखिएपछि आफ्ना कर्मचारीलाई संवेदनशील सबै कागजात र सामग्री नष्ट गर्न अमेरिकी राजदूतावासले निर्देशन दिएको छ।
बेलायती समाचार संस्था रोयटर्सका अनुसार संवेदनशील कागजात र विद्युतीय सामाग्रीहरू जलाउने प्रयोजनका लागि राजदूतावासले उपकरणहरू उपलब्ध गराएको छ।
सन् २००१मा अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्ने ओसामाबिन लादेनलाई आश्रय दिने अफगानिस्तानको तालिबान सरकारविरूद्ध अमेरिकाले २० वर्षअघि सैन्य कारबाही सुरू गरेको थियो। सो कारबाहीले तालिबानलाई विस्थापित गरेको थियो।
अमेरिकी सेना अफगानिस्तान फर्किने भएपछि तालिबानले गाँउ, शहर हुँदै राजधानी काबुल कब्जा गर्ने अवस्थामा पुगेका छन्। अमेरिकाले अगष्ट महिनाको अन्तिम सम्ममा सबै अमेरिकी सेना फर्काउने तालिका बनाएको छ।