संयुक्त राज्य अमेरिकासहित पश्चिमा शक्ति राष्ट्रहरूले अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना कूटनीतिज्ञ र नागरिक फिर्ता लैजान सैनिक पठाइरहेका बेला चीनले भने काबुलस्थित आफ्नो राजदूतावासले सामान्य अवस्थामा झैं काम गरिरहने बताएको छ।
सोमबार विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरू केही फर्किसकेको र केही फर्किन नचाहेर उतै बसिरहेको बताइन्।
‘हाम्रो दूतावासले सामान्य अवस्थामा जसरी काम गरिरहेको छ। धेरै चिनियाँहरूलाई यसअघि नै स्वदेश फर्किने व्यवस्था भइसकेको छ। केहीले उतै बस्ने निर्णय गरेका छन्। दूतावास उनीहरूसँग नियमित सम्पर्कमा छ र उनीहरू सुरक्षित छन्,’ प्रवक्ता हुआले भनिन्।
चीनले अफगानी जनताको निर्णयको आफूले सम्मान गर्ने उल्लेख गर्दै तालिबानहरूले यसअघि गरेको प्रतिवद्धताअनुसार वार्ताका माध्यमबाट खुला र समावेश सरकार बनाउने अपेक्षा व्यक्त गरेको छ।
चीनको मुस्लिमबहुल प्रान्त सिन्जियाङसँग सीमा जोडिएको अफगानिस्तानमा तालिबानहरूले प्रभाव बढाउँदै लगेपछि यसअघि नै चीनले उसका अधिकारीहरूलाई बोलाएर छलफल गरेको थियो। गत महिना तालिबान प्रतिनिधिहरूले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटेका थिए।
उता रूसले तालिबान प्रतिनिधिहरूसँग कुरा गर्ने भएको छ। मंगलबार काबुलस्थित रूसी दूतले तालिबानहरूलाई भेट्न लागेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
चीन, रूससँगै टर्की र पाकिस्तानले पनि काबुलस्थित आफ्ना दूतावास बन्द नगर्ने बताएका छन्।