अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फर्काउने आफ्नो निर्णयको बचाउ गरेका छन्।
विद्रोही समूह तालिबानले काबुल कब्जा गरेको दोस्रो दिन बाइडेनले ह्वाइटहाउसबाट सम्बोधन गर्दै अमेरिकी सेना फर्काउने निर्णय सही भए पनि अफगानिस्तानका नेता र सुरक्षा फौजले आफ्नो काम नगर्दा तालिबानले सत्ता कब्जा गरेको बताए।
आइतबार तालिबानले काबुलस्थित राष्ट्रपति कार्यालयमा कब्जा जमाएका थिए भने राष्ट्रपति असरफ घानी देश छोडेर भागेका थिए। २० वर्षपछि तालिबानहरू फेरि सत्तामा आएपछि अब आफूहरूको भविष्य के हुने हो भनेर हजारौं अफगानीहरू देश छोड्नका लागि काबुलस्थित हमिद कारजाई विमानस्थलमा पुगेका थिए। भिड थाम्न नसकेपछि विमानस्थल अस्तव्यस्त भएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा युएस एयरफोर्सको जहाज टेकअफ गर्न लाग्दा सयौं अफगानीहरू रनवेमा जहाजसँगै दौडिएको देखिन्छन्।
काबुलबाट यस्ता हृदयविदारक दृश्यहरू आइरहेका र देशभित्र तथा बाहिर पनि हतारको अमेरिकी बहिर्गमन भन्दै तीव्र आलोचना भइरहेका बेला सोमबार देशवासीका नाममा सम्बोधन गर्दै बाइडेनले यति छिटै तालिबानहरूले काबुल कब्जा गर्लान् भन्ने आफूहरूलाई नलागेको भए पनि फर्किने निर्णय सही भएको बताएका हुन्।
‘म मेरो निर्णयमा अहिले पनि अडिग छु,’ बाइडेनले भने,‘२० वर्षको अवधिमा मैले थाहा पाएको कुरा के हो भने अफगानिस्तान छोड्ने राम्रो समय कहिल्यै पनि आएन। त्यही भएर हामी अझै त्यहाँ छौं।’
अमेरिकी सेनाले २० वर्षसम्म अर्बौं डलर खर्चेर बनाएका अफगान सुरक्षा फौजले केही महिनासम्म भए पनि तालिबानलाई रोक्ने छन् भन्ने ह्वाइटहाउसको विश्वास थियो।
‘यो सबै हामीले सोचेभन्दा निकै छिटो भएको सत्य हो। त्यसपछि के भयो? अफगान नेताहरूले लत्तो छोडे र देशबाट भागे। अफगान सुरक्षा फौजले पनि तालिबानलाई छोडिदिए कतिपय ठाउँमा त लड्ने प्रयास पनि गरेनन्,’ बाइडेनले भने।
उनले आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्प प्रशासनलाई पनि अहिलेको अवस्था आउनुमा दोष लगाए।
ट्रम्प प्रशासनले तालिबानहरूसँग दोहामा शान्ति वार्ता गरेर अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लैजाने निर्णय गरेको थियो।
सोही सम्झौतापछि तालिबानहरू सन् २००१ पछि सबैभन्दा बलियो अवस्थामा पुगेको बाइडेनको भनाइ छ।