अफगानिस्तानमा विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेको सोमबार पहिलो दिन हो। २० वर्षसम्म अमेरिकी र नाटो सैनिकसँग लडेका तालिबानहरूले आइतबार फेरि राष्ट्रपति कार्यालयमा कब्जा जमाएका थिए।
मुस्लिम अतिवादी समूह तालिबानको काबुलमा पुनरागमनसँगै अफगानिस्तानमा एक युगको अन्त्य भएको छ भने अब के हुने हो भन्ने अनिश्चितता व्याप्त छ। त्यही अनिश्चितता सोमबार काबुलको जनजीवनमा पनि देखिन्थ्यो।
सोमबार हमिद कारजाई विमानस्थलमामा देखिएका दृश्यले अफगानी पीडालाई देखाउँछ। तालिबानहरू मुस्लिम कट्टरपन्थी हुन्। उनीहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म शासन चलाउँदा कडा कानुन लगाएका थिए। विशेष गरी महिलाहरूलाई १२ वर्षपछि पढ्न नदिने उनीहरूको नियम छ। त्यस्तै बजार निस्कँदा पनि पुरुष सहयोगी अनिवार्य चाहिन्छ। अमेरिकी सैनिक हुँदा ढुक्कसँग विद्यालय र विश्वविद्यालय गइरहेका महिलाहरूले तालिबान आएपछि पढ्न र काम गर्न पाउँदैनन् भन्ने अन्यौल छ।
तालिबानहरूले कस्तो शासन लगाउने हुन् भन्ने भयले सोमबार देश छोड्नेको विमानस्थलमा लर्को लागेको थियो। मानिसहरू विमानस्थलको पर्खाल नाघेर भित्र पसेका थिए भने अमेरिकी एयरफोर्सको जहाज टेकअफ हुँदासम्म जहाजमा चढ्न पाइन्छ कि भनेर धावनमार्गमा दौडिएका थिए।
आइतबार राष्ट्रपति कार्यालय कब्जा गरेका तालिबान लडाकुहरू सोमबार काबुलको सुरक्षामा खटिएका थिए। उनीहरूले शहरका विभिन्न ठाउँमा ट्राफिक चेकिङ पनि गरेका थिए। कुनै ठाउँमा त अफगान सुरक्षा फौज र तालिबान लडाकुहरू सँगै हतियार लिएर उभिएका थिए। कतिपय लडाकुले गाडीमा पनि प्याट्रोलिङ गरेका थिए।
तालिबानका नेताहरूले भेटघाटलाई जारी राखेका थिए। उनीहरूले केही नेतासँगै सरकारी र निजी सञ्चारमाध्यमका कार्यालयको निरीक्षण गरेका थिए।
काबुलको अधिकांश बजार-पसल भने सोमबार बन्द रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ्
हेर्नुस् तस्बिरहरू