अफगानिस्तानको सत्ता कब्जामा लिएपछि तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले पहिलो पत्रकार सम्मेलनमार्फत् २० वर्ष लामो संघर्षपछि देशलाई मुक्त गराउन सफल भएको र विदेशीहरूलाई निकालेको बताएका छन्।
‘यो पूरै देशका लागि गर्वको क्षण हो। अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौं,’ उनले पत्रकार सम्मेलनमा भने।
प्रवक्ता मुजाहिदले आफूहरूविरूद्ध लडेका सबैलाई माफी दिएको भन्दै बाह्य वा आन्तरिक शत्रु अब नचाहिने बताएका छन्। उनले अबउप्रान्त कसैलाई हानि नगर्ने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको उल्लेख गरे।
‘आफ्नो नेताको आदेशमा हामीले सबैलाई माफी दिएका छौं। हामी सबैको सुरक्षाको ग्यारेन्टी लिन्छौं। सबै दूतावास सुरक्षित छ। वर्तमान परिस्थितिमा म सबै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघलाई यो भरोसा दिलाउन चाहन्छु, अफगानिस्तानमा सबै सुरक्षित छन्। हामी विश्व समुदायलाई भरोसा दिन चाहन्छौं, अफगानिस्तानको भूमि कुनै पनि देशविरूद्ध प्रयोग हुन दिने छैनौं,’ उनले भने।
पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै सरकार गठन भएपछि कस्तो कानुन ल्याउने भन्नेबारे निर्णय गरिने जानकारी दिएका छन्।
उनले आफूहरू सरिया कानुनका आधारमा महिलाहरूको हकअधिकारप्रति प्रतिबद्ध रहेको बताए।
‘उनीहरूले हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन्। हामी अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहन्छौं, महिलाहरूलाई भेदभाव गरिने छैन,’ मुजाहिदले भने।
उनले अगाडि भने, ‘हाम्रो धर्मअनुसार महिलालाई अधिकार दिइनेछ। उनीहरू शिक्षा, स्वास्थ्य र अलग अलग क्षेत्रमा काम गर्नेछन्। अन्तर्राष्ट्रिय समुदायमा महिलाको अधिकारलाई लिएर चिन्ता छ। हाम्रा महिला मुसलमान हुन्, उनीहरू सरियतअनुसार बस्नुपर्छ।’
आफूहरूले सरकार गठन गर्न गम्भीर रूपमा काम गरिरहेको र केही समयमै सरकार घोषणा हुने पनि मुजाहिदले बताए। अफगानिस्तानमा हुर्किएका युवाहरूले देश नछाडून् भन्ने आफूहरूको चाहना रहेको पनि उनले उल्लेख गरे।
तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहने विश्वास पनि दिलाउन चाहेको छ।
‘निजी क्षेत्रका सञ्चारमाध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउनेछन्। कसैप्रति बदलाको भाव देखाइने छैन,’ उनले भने, ‘एकपटक फेरि मिडियालाई भरोसा दिलाउन चाहन्छौं, हामी मिडियालाई स्वतन्त्र रूपमा चल्न दिनेछौं। निजी मिडियालाई पनि हाम्रो फ्रेमवर्कअनुसार काम गर्न दिनेछौं।'
'इस्लाम हाम्रो देशको अहम् मूल्य हो। मिडियाले यसलाई पनि स्थान दिओस्। मिडिया स्वतन्त्र रहनेछन्। मिडियाले हाम्रो आलोचना गरे हामी अझै राम्रो भएर काम गर्न सक्ने छौं,’ उनले भने।
(बिबिसी, रोयटर्स लगायत एजेन्सीको सहयोगमा)