दिल्ली अदालतले कंग्रेसका सासंद शशि थरुरलाई सफाइ दिएको छ।
आफ्नी श्रीमती सुनन्दा पुष्करमाथि हिंसा गरेको र आत्महत्या दुरूत्साहन गरेको आरोप थरुरमाथि थियो।
न्यायाधीस गिताञ्जली गोयलको इजालसले बुधबार भर्चुअल सुनुवाई गर्दै थरुरलाई सफाइ दिएको इन्डियन एक्सप्रेसले जनाएको छ। भर्चुअल सुनुवाईमा थरुर पनि उपस्थित भएका थिए।
सुनुवाई पछि गोयलले यस मुद्दाका दुबै पक्षलाई धन्यवाद समेत दिइन्। यो मुद्दामा आफूलाई धेरै सिकाएको भन्दै धन्यवाद दिएकी थिइन्।
थरुरले आफूमाथि लागेको आरोपका कारण साढे सात वर्षसम्म टर्चर भएको बताए।
थरुरकी श्रीमती पुष्कर सन् २०१४ जनवरी १७मा दिल्लीस्थित पाँच तारे होटलमा मृत फेला परेकी थिइन्। उनको हत्या आरोपमा दिल्ली प्रहरीले सन् २०१५ जनवरी १ मा अपरिचित व्यक्तिविरूद्ध एफआइआर दर्ता गरेको थियो।
तर पछि प्रहरीले थरुरविरूद्ध आइपिसी सेक्सन ४९८ अन्तर्गत श्रीमान वा अरू आफन्तले महिलामाथि क्रूर व्यवहार गरेको र ३०६ अन्तर्गत आत्महत्या दुरूत्साहन गरेको मुद्दा दायर गरेको थियो।
थरुरको तरुफबाट वकिल तथा वरिष्ठ अधिवक्ता विकास पाह्वा र गौरव गुप्ताले बहस गरेका थिए।