अफगानिस्तानको सत्ता कब्जा गरेपछि युद्ध अन्त्य भएको र आफूहरूले कसैसँग बदला नलिने बताएका तालिबानहरूले बुधबार पूर्वी सहर जलालावाद सहरमा गोली चलाएका छन् भने राजधानी काबुलमा अफगानीहरूलाई विमानस्थल जानबाट रोकेका छन्।
समाचार संस्था रोयटर्सका अनुसार जलालावादमा तालिबानविरोधी प्रदर्शनकारीले सहरको मुख्य चोकमा अफगानिस्तानको झन्डा गाड्न खोज्दा तालिबान लडाकुले गोली चलाएका हुन्। गोली लागेर तीन जनाको मृत्यु भएको छ भने दर्जनौं मानिसहरू घाइते भएका छन्।
तालिबानहरूले आफ्नै एउटा सेतो झन्डा बोक्ने गरेका छन्। उनीहरूले अफगानिस्तानको यसअघिको राष्ट्रिय झन्डालाई प्रयोग गरेका छैनन्।
जलालावादको घटनाबारे तालिबानका प्रवक्ताले कुनै प्रतिक्रिया दिएका छैनन्।
यता राजधानी काबुलमा हतियारधारी तालिबानहरूले सर्वसाधारणलाई हमिद कारजाई विमानस्थलसम्म पुग्न अवरोध गरेका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार विमानस्थल जाने मुख्य सडकमा खटिएका तालिबानहरूले विदेशीलाई मात्र विमानस्थलमा जान दिएको र अफगानीलाई फर्काउने गरिएको बताएका छन्।
बुधबार भीडलाई नियन्त्रण गर्न तालिबानहरूले हवाई फायरसमेत गरेका थिए।
अमेरिकी रक्षा मन्त्री लोएड अस्टिनले अमेरिकी सेनाले विमानस्थल आउन चाहने सबैलाई ल्याउन नसकेको स्वीकारेका छन्।
अहिले काबुलमा ४ हजार ५ सय अमेरिकी सैनिक छन्। उनीहरू सबै विमानस्थलको सुरक्षामा केन्द्रीत भएकाले बाहिरबाट मानिस ल्याउन नसकेको उनको भनाइ छ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले उद्धार प्रक्रिया नसकिए अगस्ट ३१ पछि पनि अमेरिकी सेना अफगानिस्तानमा रहने बताएका छन्। यसअघि अमेरिकाले अगस्ट ३१ सम्म अफगानिस्तान छोडिसक्ने योजना बनाएको थियो।
अमेरिकाका सबै नागरिकको उद्धार नसकिएसम्म सेना अफगानिस्तानमा रहने बाइडेनको भनाइ छ।