दाङ जिल्लामा एमाले (समाजवादी) पार्टी बलियो देखिएको छ।
जिल्लामा नेकपा एमाले एउटै छँदा रहेका चार पदाधिकारीमेध्य तीन जना माधवकुमार नेपाल समूहका छन्।
जिल्ला कमिटी अध्यक्ष टीकाराम खड्का, सचिव तथा दाङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित हिराचन्द्र केसी, सहसचिव सुरामणि बेलबासे नेपाल समूहमा रहेको जिल्ला सचिवालय सदस्य पदम केसीले सेतोपाटीलाई बताए।
पदाधिकारीमध्ये जिल्ला उपाध्यक्ष हुकुमबहादुर बस्नेतमात्रै नेकपा एमालेको पक्षमा उभिएको केसीले जानकारी दिए।
हाल उनी पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको जिल्ला अध्यक्ष बनाएका छन्।
त्यस्तै ३२ जनाको सचिवालय सदस्यमा २०/२२ जना आफ्नो पक्षमा रहेको केसीले बताए। केसीका अनुसार एमाले जिल्ला कमिटीका ८४ जना सदस्यमध्ये यो बीचमा एक जनाको निधन भएको र त्यसमध्ये झन्डै ४५ जनाभन्दा माथि एमाले (समाजवादी) को पक्षमा गोलवद्ध रहेको केसीले बताए।
दाङको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित एमाले केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज मेटमणि चौधरी पनि एमाले (समाजवादी) मा छन्। दाङका तीन संघीय निर्वाचन क्षेत्रमध्ये २ नम्बरबाट माओबादीका कृष्णबहादुर महराले जितेका थिए।
प्रदेशमा भने एमाले (समाजवादी) को एक जना पनि छैनन्। दाङको निर्वाचन क्षेत्र नं. २ (क)बाट लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेल निर्वाचित भएका थिए। २ (ख) मा एमालेबाट निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिइसकेका छन्। हाल उनी लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)को प्रमुख राजीनितक सल्लाहकार नियुक्त गरिएका छन्। उनी एमाले (समाजवादी) पक्षधर नै हुन। दाङको निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित रेवतिरमण शर्मा र समानुपातिक सांसदहरू सरस्वती गौतम र धमकली चौधरी पनि एमाले अध्यक्ष ओलीको समूहमा छन्। पछिल्लो उपनिर्वाचनमा समय नेकपाको तर्फबाट निर्वाचन क्षेत्र नं. ३ (ख)बाट निर्वाचित विमला ओली खत्रीले नेकपा माओबादी केन्द्र रोजेकी छन्।
‘बिहानमात्रै हामी अध्यक्ष टीकाराम खड्कासहितका नेताहरू बसेर छलफल गरेका छौं,’ पदम केसीले भने, ‘अब हामी हाम्रो समूहको एक-दुई दिनमै बैठक बसेर सामुहिक धारणा सार्वजनिक गर्ने छौं।’
सदस्य सचिव केसीले बेलुकासम्म जिल्ला अध्यक्ष खड्काले विज्ञप्ति प्रकाशित गर्ने निर्णय भएको पनि जानकारी दिए।
दाङमा पूर्वएमाले अध्यक्षहरू लक्ष्मण आचार्य र जोगबहादुर राना पनि नेपाल समूहकै हुन।
त्यस्तै एमाले दाङका संस्थापक नेता नारायण आचार्य, तिलक केसी, मेघबहादुर बिसी, तिलक डाँगी, दामोदर अधिकारी, ऋषिराम आचार्यलगायत नेताहरू समाजवादीमा गोलवद्ध रहेको पदम केसीले दाबी गरे।
ओली समूहका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले केही मानिसहरू चोइटिएर गए पनि त्यसले नेकपा एमालेलाई कुनै असर नपार्ने बताए।
‘चोइटिएर गएकाहरूले एमालेमा दाङमा हैन समाजवादीमा बहुमत पुर्याउन सक्छन्,’ बस्नेतले भने ‘ अब उनीहरूले छोप्दै नयाँ मानिसलाई भर्ना गरे त बहुमत पुगिहाल्छ नि, हैन र?’
उनले चोइटिएर गएकाहरू पनि बिस्तारै एमाले र सूर्य चिन्हभित्र गोलबद्ध हुन आउने दाबी गरे।
‘सबै नेता कार्यकर्ता एक दिन हामी कहाँ फर्किने छन्,’ बस्नेतले भने, ‘समाजवादीमा सानो झुण्डमात्रै बाँकी रहनेछ।’
म पार्टी एकताको पक्षमा छु: उपाध्यक्ष ज्ञवाली
नवौं महाधिवेशनबाट एमाले उपाध्यक्षमा निर्वाचित दाङका युवराज ज्ञवालीले भने आफू समाजवादी पार्टीमा नजाने बताएका छन्।
‘म पार्टी विभाजन नगरौं भन्ने पक्षमा उभिएको छु,’ उपाध्यक्ष ज्ञवालीले भने, ‘कसैलाई सहयोग वा असहयोग भन्नु भन्दा पनि म एमाले विभाजन गर्नुहुन्न पक्षमा उभिएको छु।’
आफूले प्रतिनिधि सभा भंग गर्दा पार्टी अध्यक्ष ओलीको खुलेरै विरोध गरेको भए पनि पार्टी ओलीको मात्रै नभएको हुँदा पार्टी एकता कायम राख्नुपर्ने उनले तर्क गरे।
‘एमाले हामीले नै बनाएको हो, संगठन निर्माणमा हामीले धेरै पसिना बगाएका छौं,’ उपाध्यक्ष ज्ञवालीले भने, ‘बरू पार्टीभित्रै बसेर संघर्ष गरौं भन्ने कुरा गर्दै आएको छु।’
पहिला ओली पक्षले ढोका नै बन्द गरेर आयोजक कमिटी गठन गरेको हुँदा त्यतिखेर अर्को नयाँ पार्टी खोलेर जाने कि? भन्ने पक्षमा आफूसमेत रहेको भए पनि पछिल्लो समय संसद पुनर्स्थापना भइसकेको र पार्टी दश बुँदे सहमतिमा टेकेर पार्टी एकता गर्न सकिने उनको भनाइ छ।
‘संसद पुनर्स्थापना भएर संविधान कार्यान्वयनको दिशामा आइसकेपछि र ओली सरकारबाट बाहिरी सकेपछि सबैको सहमतिमा कार्यदल बनेको हो,’ ज्ञवालीले भने, ‘त्यो कार्यदल सबैको सहमतिमा गठन भएको र त्यसैमा उभिएर पार्टी एकताको मर्म खोजिनुपर्छ।’
उनले पार्टीमा अर्को अध्यक्षको पद सृजना गरेर जाने भन्नेबारे समेत छलफल चलिरहेको समयमा अर्कै दल दर्ता गर्नको लागि निवेदन दिनु हतारको निर्णय मान्न नसकिने उनले बताए।
‘पार्टीभित्रै बसेर छलफल गरौं, बहस गरौं, संघर्ष गरौं,’ ज्ञवालीले थपे, ‘पार्टी विभाजन नगरौं भन्ने मेरो मान्यता हो।’
उनले आफू एमाले (समाजवादी) पार्टी गठन भए पनि त्यसमा नजाने र त्यता गएकाहरूलाई समेत एमालेमा ल्याउन प्रयास गर्ने बताए।