बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त पाण्डेलाई बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो।
बैठकले कोभिडविरूद्धको खोप कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले जानकारी दिए।
यसअघि बुधबार राति नै शपथ ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्। उनले आन्तरिक मामिला तथा कानून र भौतिक पूर्वाधार विकास मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाई नियुक्त गरेकी थिइन्।रासस