बाँकेमा नेकपा एमालेका बहुमत केन्द्रीय सदस्य एमाले (समाजवादी) पार्टीको पक्षमा उभिएका छन्। तर, प्रदेश र प्रतिनिधिसभा सदस्य सबै नेकपा एमालेको पक्षमा उभिएका छन्।
एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गौरा प्रसाईं (कोईराला), दलबहादुर सुनार र गोविन्द कोइराला एमाले (समाजवादी) को पक्ष अर्थात माधवकुमार नेपालको पक्षमा रहेको बाँके जिल्ला अध्यक्ष तथा हाल समाजवादीका नेता अशोक कोइरालाले बताए।
बाँकेबाट एमालेका पाँच जना केन्द्रीय सदस्यमध्ये एक जना हारुन हल्वाई मात्रै केपी ओली नेतृत्वको नेकपा एमालेमा रहेका छन्।
त्यस्तै, बाँकेबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमध्ये तीनै जना सांसद एमाले अध्यक्ष ओली समूहमा छन्।
एमालेको तर्फबाट बाँकेको क्षेत्र नं. ३ बाट निर्वाचित एक्ला प्रतिनिधिसभा सदस्य नन्दलाल रोकाय ओली, प्रदेश अन्तर्गत निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित आरती पौडेल र ३ (ख) बाट निर्वाचित बाबुराम गौतम ओली नेतृत्वको एमालेमा छन्।
‘ओली समूहले प्रतिनिधि र प्रदेश सभामा हाम्रो समूहलाई टिकट नै नदिएपछि ती कसरी हाम्रा हुन्छन्,’ जिल्ला अध्यक्ष कोइरालाले भने, ‘योबाहेक जिल्ला र केन्द्रीय कमिटी, बाँकेमा हाम्रो स्पष्ट बहुमत छ।’
जिल्ला कमिटीमा एमालेको ७ औं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष अशोक कोइराला, सोही अधिवेशनबाट निर्वाचित उपाध्यक्ष निरक गुरूङ र सचिव रत्न खत्री पनि एमाले (समाजवादी) को पक्षमा उभिएका छन्।
बाँकेमा जिल्ला कमिटीमध्ये ३५/३६ जना बहुमत सदस्य आफूहरूसँग रहेको दाबी कोइरालाले गरे।
विगतमा जिल्ला कमिटी ७५ सदस्यीय रहे पनि हाल करिब ७१ सदस्यीय कमिटी मात्रै रहेको कोइरालाले बताए।
कोइरालाका अनुसार १७ सदस्यीय सचिवालयमा १० जना आफूहरूको पक्षमा रहेको बताए। कोइरालाले बाँकेमा एमाले (समाजवादी) बहुमतमा रहेको दाबी गरे।
नेपालगञ्जका पूर्वउपमेयर तथा एमाले नेता समसुद्धिन सिद्धिकी, युवा संघका केन्द्रीय सचिव दीपक जिएम, संघका जिल्ला अध्यक्ष किशोर थापा, जिल्ला पार्टी सचिवालय सदस्य अब्दुल हुसेन खाँ, अनुसाशन आयोगका जिल्ला अध्यक्ष लालबहादुर खत्री लगायत नेताहरु भने एमाले (समाजवादी) रहेको जिल्ला अध्यक्ष समेत रहेका कोइरालाले सेतोपाटीसँग दाबी गरे। तर,नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडाअध्यक्ष प्रमोद रिजाल यअसघिसम्म नेपाल पक्षधर मानिए पनि हाल उनी कतै स्पष्ट नखुलेको स्रोतले बतायो।
कोइरालाले जिल्लामा १९ जनवर्गीय संगठनमध्ये दुई वटा गठन भएकोमा दुबै आफ्नो पक्षमा रहेको दाबी गरे।
‘अर्को पक्षको व्यवहारले गर्दा जिल्लामा गठन भएका दुबै जनवर्गीय संगठन हाम्रो पक्षमा उभिएका छन्,’ कोइरालाले भने, ‘महिला, किसान, विद्यार्थीको बहुमत हिस्सा हाम्रो पक्षमा छ।’
त्यस्तै, बाँकेमा ८१ वटा वडा कमिटी रहेको र अधिकांशमा आफ्नो भए पनि केहीमा पुनर्गठन गर्न बाँकी रहेको कोइरालाले बताए।
‘पहिला समानान्तर कमिटी गठन भयो र पछि फेरि मिलाइयो,’ कोइरालाले भने, ‘अब बाँकी रहेका ठाउँमा हामी छिट्टै कमिटी पुनर्गंठन गर्नेछौं।’
पार्टी फुटको असर जिल्लामा १६ प्रतिशतमात्रै छ– ओली समूहका अध्यक्ष ढकाल
ओली समूहका बाँके जिल्ला अध्यक्ष सूर्य ढकालले बाँके जिल्लामा पार्टी फुटको असर १६ प्रतिशतभन्दा बढी नपर्ने बताएका छन्।
‘वडामा पार्टी फुटको असर परेकै छैन,’ ढकालले भने, ‘पालिकामा दुई प्रतिशत र जिल्लामा १६ प्रतिशतमात्रै फुटेर गएकाहरूको प्रभाव छ।’
उनले एमाले साबिक जिल्ला कमिटी ८५ सदस्यीय रहेको र त्यसमध्ये १६ जनामात्रै नेपाल समूहमा गएको ढकालले दाबी गरे।
‘ती १६ जना मध्येमा पनि ५ जनाले आज मलाई फोन गरेर उता जाँदैनौं भनि सक्नुभएको छ,’ ढकालले भने, ‘ अब त्यस्तै उता १२ जना मात्रै बच्ने हुन्।’
जिल्ला कमिटीमा साबिक एमालेका अध्यक्ष अशोक कोइराला र सचिव रत्न खत्रीमात्रै एमाले (समाजवादी) को पक्षमा रहेको ढकालले बताए।
सोही अधिवेशनबाट निर्वाचित उपाध्यक्ष निरक गुरुङ र सहसचिव प्रमोद धिताल आफूतिरै रहेको ढकालले दाबी गरे।
‘प्रमोदजी अहिले मेरो कमिटीको सचिव हुनुहुन्छ र निरकजी प्रदेश कमिटी सदस्य,’ ढकालले भने।
उनले जिल्लामा संगठित सदस्यहरूको संख्या ८ हजार रहेकोमा बिहीबार बिहान ११ बजेसम्म ६ हजार ३ सयले पार्टी सदस्यता नविकरण गरिसकेको र ती सबै आफ्नो पक्षमा रहेको जिकिर गरे।
‘अब यही भदौ १० गतेसम्म मात्रै पार्टी नविकरणको म्याद छ,’ उनले भने, ‘ अझै हाम्रो पक्षमा संगठित सदस्य आउने अनुमान छ।’
त्यस्तै, उनेले बाँकेमा ८१ वटा वडा कमिटीमध्ये ७१ जना वडा कमिटी अध्यक्ष आफूतिर रहेको बताए। आठ वटा गाउँपालिकामध्ये ७ जना आफूतिर र एक जना खजुरा गाउँपालिकाको लालबहादुर महतरामात्रै नेपाल पक्षमा गएको ढकालले जानकारी दिए। तर महतरा पनि हाल तटस्थ बसेको उनले दाबी गरे।
त्यस्तै, ढकालले जिल्लामा १९ जनवर्गीय संगठनमध्ये ३ वटामात्रै नेपाल समूहतिर गएको र बाँकी १६ वटा जनवर्गीय संगठन आफूसँग रहेको सेतोपाटीलाई बताए। बाँकेमा साविक एमालेले ३१ वटा वडाध्यक्ष जितेकोमा ३ जना वडाध्यक्षबाहेक २९ वडाध्यक्ष आफूतिरै रहेको ढकालले दाबी गरे।
कोहलपुरको मेयर, बैजनाथ गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, खुजुराको अध्यक्ष/उपाध्यक्ष, जानकीको अध्यक्ष/उपाध्यक्ष आफूतिरै रहेको ढकालले जानकारी दिए।
नेपालगञ्ज उपमहानगरपालिकामा ६ वटा वडाध्यक्ष जितेको सबै आफूतिर, राप्ती सोनारीमा वडाध्यक्ष जितेका एक जना पनि आफूतिर, डुडुवा गाउँपालिकामा एक जना निर्वाचित जनप्रतिनिधिलाई केही सयम पहिले एमालेमा पार्टी प्रवेश गराएको र ती पनि ओली समूहमै रहेको ढकालले बताए।
त्यस्तै बाँकेबाट एमालेका दुई जनामात्रै केन्द्रीय सदस्य रहेको र ती दुबै जना आफ्नो पक्षधर रहेको ढकालले जिकिर गरे।
त्यस्तै ढकालले ७ जना प्रदेश कमिटी सदस्यमध्ये ६ जना आफूतिर रहेको र एक जना मात्रै नेपाल समूहमा रहेको बताए।
बेदनिधि प्याकुरेल, नन्दलाल रोकाय, शान्ति ढकाल, पुजन विश्वकर्मा, प्रेम भुसाल, रामदास थारु एमालेमै रहेको ढकालले बताए।
अशोक कोइराला एक जनामात्रै नेपाल पक्षमा गएको ढकालले जानकारी दिए।