मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटी मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ।
गृह मन्त्रालयमा आज भएको छलफलमा अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै नेपाली नागरिकको उद्धार र सकुशल स्वदेश फिर्ताका लागि आवश्यकताअनुसार अन्य मुलुकसँग समेत समन्वय र सहकार्य गरी प्रभावकारी कदम चाल्न शान्ति समाजले आग्रह गरेको हो।
यसैगरी कोभिड-१९को रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारले सक्षमता प्रदर्शन गर्न आग्रह पनि गरिएको छ।
प्रतिनिधिमण्डलले आणविक हतियार निषेध सन्धिलगायत विभिन्न अन्तर्राष्ट्रिय सन्धि शीघ्र अनुमोदन गर्न पनि आग्रह गरेको महासचिव रामकृष्ण बरालले जानकारी दिए।
प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाडौं शाखा सभापति ईश्वर पुडासैनी सहभागी भएका थिए। रासस