अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुल कब्जा गरेको एक साता बितेको छ। गत आइतबार तालिबान लडाकुहरू बाहिरका सबै प्रान्तीय राजधानी कब्जा गरेपछि काबुल पसेका थिए।
तालिबानहरू काबुल पसेकै दिन तत्कालीन राष्ट्रपति असरफ घानी देश छोडेर भागेका थिए। काबुलमा अमेरिकासमर्थित सत्ता अचानक ढलेपछि अफगानिस्तानमा अब के हुने हो भन्ने अनिश्चितता बढेको थियो। तालिबानहरूको कट्टर शासनको डरले देश छोड्न चाहने अफगानहरूको काबुलस्थित हमिद कारजाई विमानस्थलमा लर्को लागेको थियो जुन अहिलेसम्म जारी छ।
कर्मचारीहरू काममा नफर्किएकाले बैंकहरू एक सातादेखि बन्द छन् भने एटिएम मेसिन खाली भएका छन्।
राष्ट्रपति कार्यालय कब्जा गरेपछि तालिबानहरूले सबै अफगानीहरूलाई आममाफी दिइएको घोषणा गरेको थिए। सबै सरकारी कर्मचारीलाई काममा फर्किन उनीहरूले आग्रह गरेका थिए। काबुलमा छिट्टै नयाँ सरकार बनाउने उनीहरूको भनाइ थियो।
एक साता बित्दा पनि तालिबानहरूले कस्तो सरकार बनाउँछन् भन्ने एकिन भइसकेको छैन। शनिबारमात्रै तालिबानमा सहसंस्थापकसमेत रहेका उक्त समूहका प्रभावशाली नेता मुल्लाह अब्दुल घानी बारादार काबुल आइपुगेका छन्। उनको काबुल प्रवेशसँगै नयाँ सरकार बनाउने प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ। यसअघि तालिबानका अन्य नेताहरूले काबुलमा पूर्वराष्ट्रपति हमिद कारजाई र राष्ट्रिय मेलमिलापका लागि उच्च आयोगका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहसँग भेटेका छन्।
तालिबानहरूले सबै अफगानहरूलाई मान्य हुने समावेशी सरकार बनाउने प्रयास गरिरहेका छन्। तालिबानका एक जना प्रवक्ताले त्यस्तो सरकार छिट्टै बन्ने बताएको न्युयोर्क टाइम्सले जनाएको छ।
काबुलमा तालिबानहरूले सरकार बनाउन प्रयास गरिरहेका बेला उत्तरी अफगानिस्तानमा भने तालिबानविरोधीहरूले तीन जिल्लामा कब्जा जमाएका विवरणहरू आएका छन्।
बगलान प्रान्तमा तालिबान बिरोधी एक समूहले पाली हिसार, दी सलाह र बानोमा तालिबान लडाकुलाई हराएको बिबिसीले जनाएको छ।
यो क्षेत्रमा यसअघि पनि तालिबानको प्रतिरोध हुँदै आएको थियो।
यता काबुल विमानस्थलको भिड अझै साम्य भएको छैन। देश छोड्न चाहने हजारौं अफगानीहरू पर्खाल नाघेर भए पनि विमानस्थलभित्र छिर्न खोजिरहेका छन्। एउटा भिडिओमा केही मानिसहरूले सानो बच्चालाई पर्खाल मुनिबाट अमेरिकी सैनिकलाई बुझाएको देखिन्छ।
हमिद कारजाई विमानस्थल अमेरिकी र नाटो सैनिकहरूले चलाइरहेका छन् बाहिर भने तालिबानहरूको नियन्त्रण छ। यसैबीच संयुक्त राज्य अमेरिकाले काबुलमा मुस्लिम आतंकवादी संगठन आइएसले आक्रमण गर्न सक्ने भन्दै आफ्ना नागरिकलाई संयमता अपनाउन भनेको छ। अहिलेसम्म आइएसले काबुलमा आक्रमणको धम्की भने दिएको छैन।
पाँच सय बढी नेपाली फर्किए, ३१७ जनाले विवरण टिपाए, भारतको पनि सहयोग
तालिबानहरूले काबुल कब्जा गरेपछि सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धार गर्ने बताएको थियो। धेरैजसो नेपालीहरूले काबुलस्थित विभिन्न मुलुकका राजदूतावास र संयुक्त राष्ट्रसंघीय मिसनमा सुरक्षा गार्डको रूपमा काम गर्थे। उनीहरूलाई सम्बन्धित देशले नै उद्धार गरी नेपाल पठाइरहेका छन्। राष्ट्र संघीय मिसनमा काम गर्ने तीन सय बढी नेपाली भने केही समय उतै रहनेछन्। राष्ट्र संघका मिसनहरू अफगानिस्तानमै रहने भएकाले सुरक्षामा खटिएका नेपाली पनि उतै रहने भएका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार शनिबार साँझसम्म ५०४ जना नेपाली अफगानिस्तानबाट काठमाडौं आइपुगेका छन् भने ३१६ जनाले स्वदेश फर्कन विवरण टिपाएका छन्।
यसरी नाम टिपाउनेहरू अवैधानिक तरिकाले अफगानिस्तान गएकाहरू हुन्। सरकारले उनीहरूलाई स्वदेश फर्काउन काबुलमा उद्धार उडान गरिरहेका मुलुकहरूसँग समन्वय भइरहेको जनाएको छ।
यसैबीच भारतले काबुलबाट दुई जना नेपालीलाई आफ्नो जहाजमा उद्धार गरेको जनाएको छ। अफगानिस्तानबाट छिमेकी ताजकिस्तान पुर्याएर त्यहाँबाट उनीहरूलाई नयाँदिल्ली ल्याइएको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ८७ जना भारतीय र दुई जना नेपालीलाई उद्धार गरी ल्याइएको ट्विटरमार्फत् जानकारी दिएका छन्।