चीनले नयाँ पुस्तामा मार्क्सवादी विचारधारा स्थापित गर्न राष्ट्रिय पाठ्यक्रममा ‘सी चिनफिङ विचारधारा’ समावेश गर्ने भएको छ।
चिनियाँ शिक्षा मन्त्रालयले मंगलबार जारी गरेको नयाँ निर्देशिकामा राष्ट्रपति सी चिनफिङको विचारधारा प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मको कोर्समा समावेश गरिने उल्लेख छ।
राष्ट्रपति सीले नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादका लागि आफ्नो विचारधारा ल्याएका छन्। उनको उक्त विचारधारा सन् २०१८ मा चिनियाँ संविधानमा पनि समावेश गरिएको छ।
शिक्षा मन्त्रालयले चिनियाँ कम्युनिष्ट पार्टीका नीतिहरू बुझ्न र तिनलाई पछ्याउनका लागि नयाँ निर्देशिकामा यो कुरा समावेश गरेको जनाएको छ। शिक्षण सामग्रीमा राष्ट्रियताको भावना हुनु पर्ने निर्देशिकामा उल्लेख छ।
सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव र राष्ट्रपति बनेपछि सीले समाजका हरेक क्षेत्रमा कम्युनिष्ट पार्टीको भूमिकालाई बढाउँदै लगेका छन्।