नेकपा एमालेका नेता/कार्यकर्ताले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु डा. विनोद सिंहलाई मोसो दलेका छन्।
एमाले भातृ संगठन अनेरास्ववियुका जिल्ला अध्यक्षको दाबी गर्दै आएका सर्जन परियारले शुक्रबार दिउँसो मेसुको कार्यकक्षमै मोसो दलेर फरार रहेको प्रहरीले बताएको छ।
‘तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का परियारले मेसु सिंहमाथि मोसो दलेर भागेको हुँदा हामीले खोजी गरिरहेका छौं,’ एक प्रहरी अधिकारीले भने।
डा. सिंहले करिब ६ जनाको संख्यामा आफ्नो कार्यकक्षमै आएका व्यक्तिहरूमध्ये अरूसँग आफूले कुरा गरिरहेको समयमा एक्कासि परियारले मोसो दलेर भागेको बताए।
‘मैले उनीहरूसँग टाइफाइडको बिरामीको कल्चरको सुविधा अस्पतालमा नरहेको र त्यसका लागि बाहिर बिरामीलाई लैजानु पर्छ भनेर सम्झाउँदै थिएँ। त्यही बीचमा सर्जन परियारले ममाथि एक्कासि मोसो दलेर भागे,’ डा. सिंहले भने।
परियारले डा. सिंहसँग आफ्नी श्रीमतीको उपचारका लागि अस्पताल आएको बताएको भए पनि परियारकी श्रीमती अस्पतालमा भर्ना भएको वा उपचार भइरहेको त्यस्तो कुनै प्रमाण फेला नपरेको अस्पताल प्रशासनले जानकारी दिएको छ।
‘मैले त सुनेको छु, परियारले एक जना जेष्ठ नागरिकलाई त्यसै बाटोबाटै समातेर निहुँ खोज्नको लागि अस्पताल ल्याएका थिए,’ डा. सिंहले भने,‘ममाथिको घटना प्रायोजित र नियोजितजस्तो देखिन्छ।’
कसैले लगाएर वा उक्साएर आफूमाथि मोसो दल्न उनीहरू आएकोजस्तो आफूलाई लागेको डा. सिंहले बताए।
उनले दोषीमाथि कानुन अनुसार कारबाही हुनुपर्ने माग गरे।
‘दोषीलाई कारबाही नभए अस्पतालमा काम गर्ने वातावरण रहने छैन,’ सिंहले भने, ‘भय र त्रासका बीचमा काम गर्न सक्ने अवस्थै रहँदैन।’
चिकित्सक कर्मचारी र स्वास्थ्यकर्मीले दिनरात काम गर्नुपर्ने हुँदा यस्तै अवस्था रहे ढुक्कले काम गर्ने वातावरण नरहने उनले तर्क गरे।
मोसो दलेका परियारले एकदिन अगाडिमात्रै समाजिक सञ्जालमा अस्पतालबारे असन्तुष्टि पोखेका थिए।
उनले सरकारी अस्पतालमा उपचार नहुने तथा ती रिफर सेन्टर जस्तो बनाइएको हुँदा निजी अस्पतालहरूले सर्वसाधारण लुट्ने गरेको आशय व्यक्त गरेका छन्।
तर, स्रोतका अनुसार परियारहरू अस्पतालका मेसुसँग संगठनको नाममा आर्थिक सहयोग माग्न गएका र उनीहरूले मागे जति रकम आफूले दिन नसक्ने र त्यसका लागि अस्पताल विकास समितिको अनुमित चाहिने कुरा डा. सिंहले गरेपछि उनीमाथि परियारले मोसो दलेको स्रोतको दाबी छ ।
विरोधमा अत्यावश्यक सेवाबाहेकका काम नहुने
अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद शर्माले मेसुमाथि कार्यकक्षमै मोसो दलेको घटनाको भत्सर्ना गर्दै खेद प्रस्ताव पारित गरेको बताए।
घटनापछि बसेको अस्पताल विकास समितिको बैठकले पीडकलाई कानुन अनुसार हदैसम्मको कारबाही हुनुपर्ने माग गरेको अध्यक्ष शर्माले जानकारी दिए।
त्यस्तै, अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको बैठकले शनिबार बिहान ९ बजेसम्म आरोपित परियारलाई पक्राउ गरी कानुनी उपचारको प्रक्रिया नथाले अस्पताको आपतकालीन कक्ष, प्रसूती कक्ष, डायलासिस र अत्यावश्यक सेवा बाहेकका सबै काम रोक्ने निर्णय गरेको छ।
अध्यक्ष शर्माले हाल ५० बेड क्षमताको अस्पतालमा ५ बेड राखेर सेवा प्रवाह गर्दै आएको बताए।
दरबन्दी अनुसार जनशक्ति नहुनु, दक्ष जनशक्ति नहुनु, आवश्यक उपकरण नहुनु जस्ता कारणले सबै खालको सेवा अस्पतालबाट दिन नसकिएको कुरा सर्वसाधारणले बुझ्न आवश्यक रहेको उनले बताए।