नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र सहमहामन्त्री प्रकाशशरण महत शनिबार एकै कार्यक्रममा देखिए।
दाङको घोराहीमा पुगेका उनीहरूले महाधिवेशनमा होमिन नेता/कार्यकर्तालाई आग्रह गरेका थिए।
घोराही २ की यवादेवी घिमिरेको श्रद्धाञ्जली सभामा शनिबार उनीहरूले भदौ १८ मै देशैभर वडा अधिवेशन हुने पनि बताए।
महामन्त्री कोइरालाले महाधिवेशनबाट सक्षम नेतृत्व चयन गर्न आग्रह गरेका थिए भने महाधिवेशनलाई उत्सवका रूपमा लिन भनेका थिए। यो महाधिवेशनबाट पार्टीभित्र देखा परेका गुटबन्दी रोकिनुपर्ने उनले बताए।
गुटबन्दी रोकिए आगामी निर्वाचनबाट कांग्रेस देशकै सबैभन्दा ठूलो पार्टी हुने कोइरालाको भनाइ थियो।
‘गुटले गर्दा कांग्रेसले पराजय भोग्दै आएको छ। गुट बन्द हुने गरी नेतृत्व चयन गर्नुहोस्,’ उनले भने, ‘आगामी निर्वाचनमा कांग्रेस नै पहिलो शक्तिमा उदाउँछ।’
कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महतले महाधिवेशनका लागि तयार रहन नेता तथा कार्यकर्तामा आग्रह गरेका थिए। कार्यतालिकाअनुसार नै महाधिवेशन हुने उनले बताए।
‘कोरोना र तयारी नपुगेकोले यसअगाडि पटकपटक सरे पनि अब महाधिवेशन सर्दैन,’ उनले भने, ‘क्रियाशील सदस्यको नाम पनि सार्वजनिक भइरहेका छन्। निर्वाचन अधिकृतहरू जिल्लामा जानु भएको छ, भदौ १८ मा वडा अधिवेशन हुन्छ।’
केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसलाई आगामी निर्वाचनबाट शशक्त पार्टीका रूपमा अगाडि बढाउनुपर्ने बताए। व्यक्तिगत स्वार्थ त्यागेर जनताको हितका लागि काम गर्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए।
अर्का केन्द्रीय सदस्य सञ्जय गौतमले पार्टीलाई बलियो बनाउन र जनहितअनुसारका काम गर्न सबै एकजुट हुनुपर्ने बताए। कार्यक्रममा बोलेका नेताहरूले यवादेवी घिमिरेले पार्टी आन्दोलनमा ठूलो योगदान दिएको भन्दै चर्चा गरेका थिए।