नेकपा एकीकृत समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा खाता खोलेको छ। पाल्पाकी प्रदेश सभा सदस्य रमा घर्तीमगरले उक्त पार्टी रोजेकी हुन्।
मगरले मंगलबार प्रदेश निर्वाचन कार्यालय दाङ आएर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी हुन्।
नेकपा एमाले विभाजन भएपछि लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने उनी पहिलो प्रदेश सांसद हुन्।
निमित्त प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले एक जना प्रदेश माननीयले आफूकहाँ आएर नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेको बताए।
उनले सनाखत गर्ने व्यक्तिको नाम २२ गतेपछि मात्रै सार्वजनिक गर्न मिल्ने बताए।
‘एक जना प्रदेश सभा सदस्यले म कहाँ आएर सनाखत गर्नु भएको छ,’ उनले भने, ‘तर, यो कुरा उहाँकै पार्टीबाट बुझ्नुहोला।’
नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला नेतृत्वले पाल्पाबाट निर्वाचित मगरले आफूखुसी दाङ आएर आफ्नो दल रोजेको जानकारी दिएको छ।
निर्वाचन आयोगले लुम्बिनी प्रदेश सभा सचिवालयलाई पत्राचार गरेपछि मात्रै त्यो कुरा भन्न मिल्ने भट्टराईले बताए।
मगरले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि अब लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संख्या ६ पुगेको छ।
मगरले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या प्रदेश सभामा ३६ मात्रै रहने भएको छ।