दाङको शान्तिनगर गाउँपालिका-३ की ३२ वर्षीया पार्वती पुन नेपाली कांग्रेसकी वडा सभापति बनेकी छन्।
भर्खरै सम्पन्न वडा अधिवेशमा उनी शान्तिनगर गाउँपालिका-३ की वडा सभापति चुनिएकी हुन्।
उनले कांग्रेसको १२औं महाधिवेशनताका क्रियाशील सदस्यता लिएकी थिइन्। १३ औं महाधिवेशनका क्रममा पार्वतीले आफ्नो क्रियाशील सदस्यता नवीकरण गर्न पाइनन्।
उनको जन्मघर उक्त गाउँपालिका-२ बागमारे हो। २०६३ सालमा एसएलसी उत्तीर्ण भएपछि घर परिवारले उनको बिहे गरिदिए। बुवा कांग्रेसी थिए, घर परिवारका पनि सबै कांग्रेस नै भए। त्यसैले आफूलाई उनले जन्मजात नै नेपाली कांग्रेस भन्छिन्।
१२औं महाधिवेशनमा सक्रियतापूर्वक काम गरेकी थिइन्। त्यही बेला उनको मनमा अब आफू पनि नेता बन्नु पर्छ भन्ने चाहना पलाएको थियो।
१४औं महाधिवेशनको क्रममा उनले पहिले छुटेको क्रियाशील सदस्यता नवीकरणमात्र गरिनन् वडा सभापतिमा आफ्नो दाबेदारीसमेत प्रस्तुत गरिन्।
दाङ कांग्रेसमा दुई नेताका आ-आफ्ना समूह छन्। एउटा गेहेन्द्र गिरी, अर्को दीपक गिरीको समूह।
गिरी दाजुभाइमध्ये पार्वती नेता गेहेन्द्र टिमकी हुन्। सुरूमा त उनकै टिम भित्रका वडा सदस्य हेमबहादुर केसी, पद्मपाणि कँडेल र डम्मर भण्डारीले पनि सभापतिमा दाबेदारी प्रस्तुत गरे।
अर्को टिम अर्थात् कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीको प्यानलबाट थम्मनप्रसाद कँडेल प्रतिस्पर्धी थिए।
पार्वती उम्मेदवारी प्रस्तुत गर्ने क्रममा आफूले गरेको भाषणकै कारण पुरुष नेताहरूले दाबेदारी फिर्ता लिएको बताउँछिन्।
‘म यो समाजको महिला हुँ। हामीलाई समाजमा अनेकन बन्देज हुन्छन्। ती बन्देज झेल्दै राजनीतिमा आएकी छु। यहाँ नेतृत्वको अवसर दिनुहोस्। पार्टीको लागि भविष्यमा केही उदाहरण पेश गर्न सक्छु,’ पार्वतीले भाषणमा भनेकी थिइन्।
भाषणपछि टिमका मानिसले आपसमा सरसल्लाह गरे। अरू तीन जना आकांक्षीले उम्मेदवारी फिर्ता लिए।
अब थम्मनप्रसाद कँडेलमात्रै पार्वतीका प्रतिस्पर्धी भए। कँडेल शान्तिनगर गाउँपालिकाको इकाइ सचिव हुन।
पार्वतीका अनुसार विपक्षी टिमका कतिपय व्यक्तिले सामुन्ने पनि घोचेर/हेपेर बोले। उनीहरूले भन्ने गर्थे- यो महिला हो, वडा सभापति जितेर के गर्न सक्छे र?
महिला हैन पुरुषलाई विजयी बनाउनु पर्छ भन्ने अभियान नै चलाए।
कतिले सिनियर नेता भएको भन्दै पार्वतीलाई कँडेलसँग नभिड्न भने। पार्वतीको दृढता देखेर कुनै उपाय नचलेपछि लालच देखाए। भविष्यका कुरा गरेर त्रास देखाउन खोजे।
त्यस्ता कतिलाई पार्वतीले जवाफ दिन्थिन्- पार्टी कसैको पेवा हैन, स्वच्छ प्रतिपर्धामार्फत् लोकतान्त्रिक विधिबाट नेतृत्व चुन्न पाउनु हरेक क्रियाशील सदस्यको अधिकार हो।
अन्तिम अस्त्रका रूपमा अर्को पक्षले पार्टीभित्र सर्वसहमतिको वातावरण निर्माण बनाउन पर्ने र सिनियरलाई मान्नुपर्ने दाबी प्रस्तुत गर्दै पार्वतीलाई पन्छाउन खोजे।
सभापतिको दावी छोडिदिन पार्वतीमाथि अनेक तरहले दबाब सिर्जना गर्न खोजे पनि पार्वती कत्ति विचलित भइनन्। बरू थप आत्मविश्वासका साथ अगाडि बढ्ने प्रण गरिन्।
पार्वती दृढतापूर्वक आफू र आफ्नो टिमको पक्षमा मत माग्दै घरदैलो अभियानमा लागिन्। पार्वतीको जोश र उत्साह देखेर अरू पदका उम्मेदवार पनि खुसी साथ अभियानमा लागे।
भदौ २० गते निर्धारित समयमै पार्वती आफैं टिमको नेतृत्व गरेर मनोनयन दर्ता गर्न गर्न खोजिन्।
त्यतिखेर पनि अर्को पक्षले मनाउन खोज्यो। तर, पार्वतीले मानिनन्। लोकतान्त्रिक विधिबाट जो आउँछ-आउँछ भन्ने जवाफ दिइन्।
भदौ २१ गते वडा सभापतिदेखि क्षेत्रीय प्रतिनिधि चुन्न मतदान सकियो। साँझ मत गणना सुरू भयो। उम्मेदवारलाई छटपटी नहुने कुरै हुँदैन। मतमा कहिले पार्वती अगाडि र कहिले थम्मन अगाडि हुने क्रम जारी रह्यो। पार्वती धैर्यताका साथ मतदानस्थलमै बसेकी थिइन्। राति अबेर साढे ११ बजे परिणाम सार्वजनिक भयो। पार्वती निर्वाचित भइन्।
२११ मतदातामध्ये पार्वतीले १०७ मत प्राप्त गरिन्। उनका प्रतिद्वन्द्वी ले १०३ मत प्राप्त गरे।
निर्वाचित भएपछि बल्ल पार्वती ढुक्क भइन्।
पार्वती घर पुग्दा उनका छोरीहरू सुतिसकेका थिए। पार्वतीले छोरीहरूलाई उठाइन्। अबिरले रंगिएकी आमालाई देखेपछि छोरीहरूले बुझिहाले। बधाई दिए।
पार्वतीकी सासु नन्दकली पुन बुहारी वडा सभापतिमा निर्वाचित हुँदा औधी खुसी छिन्।
‘सासु आमाले अब स्वर्गीय ससुरा बुवाको नाम राख्ने तिमीमात्रै त भयौ भनेर आर्शिवाद दिनुभयो,’ पार्वतीले भनिन्, ‘गाँउ-घरका दिदीबहिनीमात्रै हैन, जिल्लाभरका नेताहरूले फोन गरेर बधाई दिइरहनुभएको छ।’
नेपाली कांग्रेसको १४औं महाधिवेशनका क्रममा दाङ जिल्लाबाट निर्वाचित पार्वती एक्ली महिला वडासभापति हुन्। दाङमा एक सय वडा छन्। तीमध्ये वडा सभापतिको उम्मेदवार पनि अरू कोही उठेनन्।
‘मैले त आफ्नो दाबी प्रस्तुत गरें र आज वडा सभापति बन्न सकें,’ पार्वतीले भनिन् ‘अरू दिदी-बहिनीले पनि आफ्नो दाबी प्रस्तुत गर्न सक्नुपर्छ।’
३३ प्रतिशत महिला सहभागिताको कुरा हरेक राजनीतिक दलहरूले गर्ने गर्छन् तर व्यवहारिक रूपमा महिलालाई नेतृत्वमा लैजान कसैले पनि इच्छा गर्दैनन्। यस्तो प्रवृत्तिका विरूद्ध सबै महिलाहरू लड्नु पर्ने उनको भनाइ छ।
पार्वतीको बुझाइमा कांग्रेसभित्र अहिले अनुशासन र एक-अर्काप्रतिको सम्मान अलि कम भएको छ।
‘राजनीतिक चरित्रको व्यक्तिमा सहनशीलता, धैर्यता र एकअर्कालाई सम्मान गर्ने बानीको हुनुपर्छ,’ उनले भनिन्, ‘महिलामा यी सबै गुण हुन्छन्। काम गर्ने क्षमता पनि पुरुषमा भन्दा ज्यादा महिलामा हुन्छ।’
कांग्रेसलाई वडा तहबाटै राम्रो बनाउन बोलीजस्तो व्यवहार गर्ने नेताको खाँचो रहेको उनले बताइन्।
‘म भए ठीक र अर्को भए बेठीक भन्ने प्रवृतिको अन्त्य वडा तहबाटै गर्न जरूरी छ,’ पार्वतीले भनिन्, ‘आफूलाई मात्रै ‘ए’ क्लासको कांग्रेस ठान्नेहरूले नै यहाँ गुट-उपगुट पैदा गरेका छन्। म त्यसको अन्त्य चाहन्छु। कांग्रेस राम्रो बनाउन बोलेर हैन काम गरेर देखाउने मान्छेको खाँचो छ।’
आफ्नो जितलाई उनी लोकतन्त्र र र समावेशीताको जित भएको बताउँछिन्।
‘मेरो जित कसैको हारको कुरा हैन। यो विधि-पद्धति, समावेशीता र लोकतन्त्रको जित हो,’ पार्वतीले भनिन्, ‘यो एउटा घरभित्र मूली चुनेजस्तै कुरा हो। सबैले मलाई सल्लाह सुझाव दिएर सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ।’
महिलाहरू अगाडि बढ्न दृढ इच्छा, जोश र जाँगर हुनुपर्ने मान्यता पार्वतीको छ। घर-परिवार समाजको साथ समर्थनबिना एक्लै अगाडि बढ्न सम्भव हुँदैन भन्नेमा पनि उनी स्पष्ट छिन्।
सबभन्दा पहिले त अगाडि बढ्न आफ्नो रूची, क्षमता र चाहना अनुसारका क्षेत्रका अवसरमा महिलाले दाबेदारी दिन जरूरी रहेको उनको बुझाइ छ।
आफूले दाबी नगरेर पाएको अवसर यसै खेर जान नदिने उनी बताउँछिन्।
‘समय र स्वास्थ्यले साथ दिँदासम्म म जतिसम्म गर्न सक्छु राजनीति गर्नेछु,’ पार्वतीले भनिन्, ‘अब आगामी निर्वाचनमा गाउँपालिकामा उपप्रमुखको उम्मेदवार बन्ने सोचेकी छु।’
२०६३ सालमा स्थानीय सरकारी विद्यालयबाटै एसएलसी उत्तीर्ण गरेकी पार्वतीले बिहेपछि कलेज पढ्न पाइनन्। दुई छोरी हुर्के सकेपछि फेरि उनले स्थानीय जनकल्याण माविमा भर्ना भएर गत वर्षमात्रै कक्षा १२ सम्मको पढाइ पूरा गरेकी छन्। समय मिलेसम्म स्नातक पनि पढ्ने उनको रहर छ।