नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ २२ मा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा निर्वाचन भयो।
मतदान सकिएपछि मतगणना गरियो। सचिव पदका उम्मेदवार मन्दागिनी खड्का र ओपेन्द्र खत्रीको बराबर मत आयो- १४९ मत। कूल तीन सय १२ मत खसेको थियो। सचिव पदमा एक जना उम्मेदवार चयन हुनुपर्ने थियो।
त्यस्तै क्षेत्रीय प्रतिनिधितर्फ शंकर दिवस मज्गैंया, यमकान्त भण्डारी र जितेन्द्रप्रकाश वलीको पनि मत बराबर भयो। १४२ मत मत ल्याए उनीहरूले। एक क्षेत्रीय प्रतिनिधि पदका लागि तीन जना चुनावी मैदानमा थिए।
बराबर मत आएपछि फेरि मतगणना गर्ने सहमति भयो। पुन: गणना गर्ने र त्यसबाट फेरि पनि बराबरी मत प्राप्त भए गोलापर्था गर्नेमा उनीहरुले लिखित रुपमै समझ्दारी गरेका थिए।
बिहीबार बिहान ११ बजेदेखि पुन: गणनाका लागि मतपत्र खोलियो। सुरुमा वडा सचिवको गणना गर्न खोज्दा ५० मतको एउटा बन्डल नै फेला परेन। दुई ६२ मत मात्रै फेला पर्यो। ५० मत गायब भएपछि पुन: गणना बीचमै रोकियो।
मतदान अधिकृत विजय पौडेलले ५० मत हराएको बताए। ‘मैले गणनापछि आफैँले झोलामा राखेको थिएँ,’ उनले भने ‘तर त्यही झोलाबाट निकालेर गणना गर्न खोज्दा ५० मत गायव भएको देखेर म आश्चर्यमा परेको छु।’
पौडेलले मत हराउनु आफूहरुको गम्भीर कमजोरी भएको स्वीकार गरेका छन्। ‘अब यो झमेला हामीले सल्टाउन सक्ने अवस्था रहेन,’ उनले भने, ‘त्यसैले बिहीबार नै मैले समस्या समाधानका लागि जिल्ला निर्वाचन समितिमा उत्पन्न सममस्याका बारेमा मत पत्रसहित पठाइ दिएको छु।’
५० मत गायव हुनुमा षड्यन्त्र रहेको भन्दै उम्मेदवारहरु भने अदालत जाने तयारी गरिरहेका छन्।
‘निर्वाचन अधिकृतको लापरबाहीबिरुद्ध हामी अदालतमा जान्छौं,’ वडा सचिव पदका उम्मेदवार ओपेन्द्र खत्रीले भने, ‘मिलेमतोमा ५० मत गायव पारिएको हाम्रो बुझाई छ।’
मतकै सुरक्षा गर्न नसक्ने मतदान अधिकृतले आफ्नो कमजोरी स्वीकार गर्दै आफूहरुसँग माफी मागेको भए पनि अब के गर्ने भन्ने अन्योल रहेको खत्रीले बताए।
‘कि फेरि निर्वाचन हुनुपर्छ,’ खत्रीले भने, ‘हैन भने गायब पारिएका ५० मत खोजेर ल्याइनु पर्छ।’ निर्वाचन अधिकृत पौडेलले पनि अब जिल्ला निर्वाचन समितिको निर्णयको प्रतिक्षा भइरहेको बताए।
दाङमा एक सय वडा छ। त्यसमध्ये अधिकांशमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको थियो। तर निर्वाचन भएका मध्ये दंगिशरण गाउँपालिका वडा नम्बर ७, तुलसीपुर उपमहागनरपालिका अन्तरगत वडा नम्बर ३, ४, ५, ८, ११, १२, १५, १९ र घोराही उपमहानगरपालिका अन्तरगत ३, ४ र १४ नम्बर वडाको मत परीणाम जिल्ला निर्वाचन समितिको सचिवालयमा आइनपुगेको जिल्ला निर्वाचन समितिका युवराज बस्नेतले बताए।