दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ५ मा जिल्ला निर्वाचन समितिका पदाधिकारी आफैंले चिठ्ठा तानेर एक जना क्षेत्रीय प्रतिनिधि निर्वाचित गराएका छन्।
भदौ २२ गते भएको मतदानमा क्षेत्रीय प्रतिनिधितर्फ शंकर दिवस मज्गैंया, यमकान्त भण्डारी र जितेन्द्रप्रकाश वलीले समान १४२ मत मत प्राप्त गरेपछि निर्वाचन समितिका पदाधिकारी आफैंले चिठ्ठा तानेर मज्गैंयालाई विजयी बनाएका हुन्।
जम्मा ३१२ मत खसेकोमा तीन जना उम्मेदवारले समान मत प्राप्त गरेपछि निर्वाचन समितिका पदाधिकारी आफैंले गोला तानेर शनिबार एक जनालाई निर्वाचित गराएका हुन्।
तीन जनाको बराबर मत प्राप्त भएपछि वडा नं. ५ मा पुनः मतगणना गर्ने क्रममा ५० मतको एउटा बण्डल नै फेला नपरेपछि त्यो रोकिएको थियो। त्यसपछि घोराहीस्थित जिल्ला निर्वाचन समितिका पदाधिकारीले शनिबार गोला तानेर मज्गैंयालाई विजयी बनाएकोबारे आफूले अरूबाट थाहा पाएको एक प्रतिष्पर्धी जितेन्द्रप्रकाश वलीले सेतोपाटीलाई बताए।
‘गोला तान्नेबारे हामीलाई निर्वाचन समितिका कसैले जानकारी दिएनन्,’ वलीले भने, ‘यतिसम्मकी कसले जित्यो भन्नेसम्मको खबर मलाई कसैले दिएन। यहाँ नेर पुरै षडयन्त्र भएको मेरो बुझाई छ।’
जिल्ला निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत कुमारराज श्रेष्ठले तीन जना क्षेत्रीय प्रतिनिधिका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि निर्वाचन समितिमा भएको सहमति अनुसार उम्मेदवारलाई नभइ समितिकै मानिसहरुले गोला तान्दा मज्गैंया विजयी भएको सेतोपाटीलाई जानकारी दिए।
‘हामीले तीन प्रतिपर्धी कसैलाई पनि त्यहाँ बोलाएका होइनौं,’ श्रेष्ठले भने, ‘तर, वडा नं. ५ का वडा सचिव ओपेन्द्र खत्रीलाई गोला तान्दा उपस्थित गराएका थियौं।’
क्षेत्रीय प्रतिनिधिका एक प्रतिपर्धी वलीले उम्मेदवारलाई गोलाप्रथामा सहभागी नगराउनु अन्याय भएको बताए। ‘चुनाव लडेको ब्यक्तिले स्वयम् त्यो गोलाप्रथामा सहभागी हुन पाउनुपर्थ्यो,’ वलीले प्रश्न गरे, ‘निर्वाचनन समितिका ब्यक्तिले आँफै गोला तान्नुलाई कसरी न्योयोचित मान्न सकिएला?’
त्यस्तै वडा सचिव पदमा बराबरी मत प्राप्त गरेका दुई मध्ये आपसी समझदारीमा एक जनालाई विजयी घोषणा गरिएको जिल्ला निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
वडा सचिव पदका उम्मेदवारहरु मन्दागिनी खड्का र ओपेन्द्र खत्रीको बराबर १४९ मत प्राप्त गरेका थिए। उनीहरू मध्य खत्रीलाई सम्झदारीमा सचिव पदमा निर्वाचित भएको घोषणा गरिएको छ।
त्यसअघि बिहीबार पुनः मतगणना गर्न खोज्दा वडा सचिव र क्षेत्रीय प्रतिनिधि तर्फको ५० मतको एउटा बण्डल नै फेला पर्न नसकेपछि मतगणना स्थगित भएको थियो। खसेको मत मध्ये ५० मत फेला नपरेपछि मतदान अधिकृत विजय पौडेलले आफ्नो तर्फबाट कसैले ती मत गायव बनाएको भन्दै कमजोरी स्वीकार गरेका थिए ।
तुलसीपुर ११ को मात्रै परिणाम आउन बाँकी
दाङका एक सय वडामध्ये तुलसीपुर उपमहानगरपालिकाका तीन वडाबाहेक सबैमा भदौ २१ वडा तथा क्षेत्रीय प्रतिनिधि चुन्ने काम सम्पन्न भइसकेको थियो ।
जिल्लाको सबैभन्दा बढी क्रियाशील सदस्य रहेको वडा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा पनि भदौ म २१ गते नै निर्वाचन भएको हो। तर, हप्ता दिन बितिसक्दा पनि त्यहाँको निर्वाचनको परिणाम सार्वजनिक भएको छैन।
जिल्ला निर्वाचन समितिका युवराज बस्नेतले प्राविधिक कारणले तुलसीपुर ११ को निर्वाचनको परिणाम आइनसकेको बताए। ‘त्यहाँ खर्च धेरै देखाइएको छ,’ बस्नेतले भने, ‘एक लाख खर्च भएको विवरण निर्वाचन अधिकृतले प्रस्तुत गरेपछि अलिकति सन्देह भएको छ।’
जिल्ला निर्वाचन समितिले त्यसमध्ये २५ प्रतिशत खर्च कटाएर परिणाम बुझाउन आफूहरूले ताकेता गरेको बस्नेतले बताए। ‘आशा छ आइतबार दिउँसोसम्म हामीलाई उक्त वडाका निर्वाचन परिणाम बुझाउनु हुनेछ,’ बस्नेतले भने ।
निर्वाचन समितिका जिल्ला सदस्य बस्नेतका अनुसार दाङका १ सय वडामध्ये ६० वडामा सर्बसम्मत रुपमा नेतृत्व चयन भएको, २० वटाका केही कलस्टरमा मात्रै निर्वाचन भएको र थप २० वटामा प्यानलवाइज निर्वाचन भएको सेतोपाटीलाई बताए।