उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ।
उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले शनिबार र आइतबार दुई वटा नयाँ प्रकारका लामो दूरीका क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको दाबी गरेका छन्।
परीक्षण गरिएका ती मिसाइलले १५ सय किलोमिटरको दूरी तय गर्न सक्छन्। उत्तर कोरियाले परीक्षण गरिएका ती मिसाइललाई ‘निकै महत्व भएका रणनीतिक हतियार’ का रूपमा व्याख्या गरेको छ।
गत जनवरीमा अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले सपथ लिएका बेला पनि उत्तर क्रुज कोरियाले मिसाइल परीक्षण गरेको थियो।
उत्तर कोरियाको परमाणु कार्यक्रम र ब्यालेस्टिक मिसाइलका कारण अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएका छन्।
केही दिनअघिमात्रै उत्तर कोरियाले मुलुक स्थापना भएको ७३ औं वर्ष पुगेको उपलक्ष्यमा प्योङयाङमा विशाल सैनिक परेड गरेको थियो। बुधबार राति भएको उक्त परेडमा उत्तर कोरियाली नेता किम जोङ उन पनि सहभागी भएका थिए।