लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चार जनाविरूद्ध नेकपा (माओवादी केन्द्र) की प्रदेश सभा सदस्य विमलाकुमारी वलीले अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छन्।
माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद वलीसँगै आफू इलाका प्रहरी कार्यालय बुटवलमा गएर सोमबार पूर्वमुख्यमन्त्री पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका (चालक) तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरूद्ध जाहेरी दिएको सेतोपाटीलाई जानकारी दिए।
माओवादी प्रमुख सचेतक घर्तीले तत्कालीन मुख्यमन्त्री पोखरेलको निर्देशनमा साउन १५ गते सांसद वलीलाई दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित घरबाट जबरजस्ती उठाएर ल्याएको र मुख्यमन्त्रीको बुटवलस्थित कार्यालयमा ५ दिनसम्म बन्धक बनाएर राखेको हुँदा चार जनाविरूद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दिनु परेको बताए।
घर्तीले इप्रका बुटवलका डिएसपी मदन कुँवरले आफूहरूलाई जाहेरी दर्ता गरेको प्रमाण पत्रसमेत उपलब्ध गराइसकेको जानकारी दिए।
डिएसपी कुँवरले सोमबार आएर सांसद विमला र माओवादीका नेताहरू आएर सोमबार आफूकहाँ जाहेरी दिएको स्वीकार गरे।
‘मुद्दा अपहरण र शरीर बन्धकसम्बन्धी छ,’ डिएसपी कँवुरले भने, ‘चार जनाविरूद्ध किटानी जाहेरी छ।’
डिएसपी कुँवरले आफूकहाँ आएको जाहेरी दाङ पठाउने प्रक्रियाको थालनी भएको बताए।
‘जाहेरी दर्ता बुटवलमा हुँदैन,’ कुँवरले भने, ‘त्यो दाङबाटै हुने छ।’
रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले पनि पूर्वमुख्यमन्त्री पोखरेललगायत चार जनाविरूद्ध बुटवलमा किटानी जाहेरी प्राप्त भए पनि घटनाको सुरू दाङबाटै भएको हुँदा दाङमा जाहेरी पठाउने प्रक्रियामा आफूहरू रहेको सेतोपाटीलाई बताए।
‘हामीसँग सम्बन्धित नभएको कारणले हामीले दाङमा पठाइदिन लागेका छौं,’ उनले भने, ‘क्षेत्राधिकार उता परेको हुँदा उतै पठाउन लागेका हौं।’
दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले आफूले पनि हल्ला सुनेको प्रतिक्रिया दिए।
‘घटनास्थल जहाँ हो, मुद्दा त्यहीँ हेरिन्छ नि। घटनास्थल बुटवल हो। त्यहाँको मुद्दा किन दाङ पठाउने,’ एसपी काफ्लेले भने, ‘कानुन हेरौंला, अधिवक्ता बोल्नुहोला। त्यहीअनुसार गरौंला।’
माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद वलीमाथि अत्याचार भए पनि आफूहरूले राजनीतिक मानिस हुन् भनेर समयमै मुद्दा नहालेर उनीहरूलाई आत्मआलोचना गर्ने समय दिए पनि त्यसो नभएको बताए।
‘हामीले मुद्दा त एक महिना पहिले नै हाल्नुपर्ने थियो, राजनीतिक व्यक्ति हुन् भनेर विश्वास गर्नु गलत भएछ,’ घर्तीले भने, ‘शंकर पोखरेलले यति धेरै अपराध गर्लान् भनेर कहिल्यै सोचेकै थिएनौं।’
वली गत उपनिर्वाचनका क्रममा तत्कालीन नेकपाको सूर्य चिन्हबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (ख)बाट निर्वाचित भएकी थिइन। राजनीतिक रूपमा वलीका स्वर्गीय पति उत्तरकुमार वली र विमलालाई समेत उपनिर्वाचनमा टिकट दिने दाङबाटै प्रतिनिधित्व गर्ने पूर्वमुख्यमन्त्रीविरूद्ध वलीले गम्भीर प्रकृतिको मानिने अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएको घटना सर्वजनिक भएपछि एमाले दाङका एक नेताले आश्चर्य ब्यक्त गरे।
‘यो त आफ्नै राजनीतिक गुरुविरूद्ध जाहेरी दिए जस्तै भएन र,’ उनले प्रश्न गरे।
माओवादी केन्द्र दाङकै एक नेताले भने गम्भीर अपराध गर्न खोजे आफ्नै बुवाविरूद्ध समेत चेलीबेटी उत्रिएका थुप्रै घटना रहेको भन्दै वलीको सहासलाई सबैले सम्मान गर्नु पर्ने तर्क गरे।
साउन १५ गते मुख्यमन्त्रीको निर्देशनमा वलीलाई दाङकै एमाले नेता मानबहादुरको सहयोगमा घरमै पुगेर ललाइफकाइ गाडीमा चढाएर बाँके जाउँ भनी जबरजस्ती बुटवल पुर्याएर बन्धक बनाएको आरोप खेपेका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आफूविरूद्ध वलीले दिएको जाहेरीको कुनै तुक नभएको बताए।
‘तत्कालीन प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विमलालाई किन कारबाही नगर्ने भन्ने बारे पठाएको पत्र लगेर हामी उहाँको घरमा गएका थियौं,’ ढकालले भने, ‘विमलाजीको आमा पनि घरमै हुनुहुन्थ्यो र विमलाजीले एक पटक म आफैं मुख्यमन्त्री पोखरेलसँग कुरा गर्छु भनेपछि विमलाको दिदी र देवरसँगै एउटै गाडीमा हामी सहमतिमै बुटवल आएका हौं।’
उनले विमलाकै इच्छाअनुसार मुख्यमन्त्री निवासमा ल्याइएको भन्दै अपरहण गरेको भन्नु राजनीतिक रिसइबी मात्रै भएको बताए।
वलीले यसअघि बुटवलमा पत्रकार सम्मेलन गरेर पाँच दिन आफूलाई मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाएर राखेको तथा आफू शौचालयको चप्पल लगाएर भागेको बताएकी थिइन।
पछिल्लो समय वली माओवादीको तर्फबाट लुम्बिनीमा राज्यमन्त्री बन्ने चर्चा चलिरहेको छ।
तत्कालीन नेकपाबाट निर्वाचित वलीले पछिल्लो समय माओवादी पार्टी रोजेकी छन्।