अमेरिकी पत्रिका टाइम म्यागजिनले तालिबान समूहका सहसंस्थापक मुल्लाह अब्दुल घानी बारदारलाई सन् २०२१ का प्रभावशाली सय व्यक्तिको सूचीमा राखेको छ।
तालिबानहरूले फेरि अफगानिस्तानको सत्ता कब्जा गरेपछि बारदारलाई अन्तरिम सरकारको उपप्रधानमन्त्री नियुक्त गरिएको छ।
बारदार यसअघि तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुख थिए। अमेरिकासँग भएको तालिबानको शान्ति सम्झौतामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
पछिल्लो समय तालिबानले काबुल कब्जा गर्दा रक्तपातविहीन भएको र असरफ घानी सरकारका अधिकारीहरूलाई आममाफी दिने निर्णयमा बारदारको भूमिका रहेको टाइमले जनाएको छ।
अतिवादी समूह तालिबानमा बारदार नरम खालका भएको र उनले आगामी दिनमा विदेशी सहायता र अन्तर्राष्ट्रिय सहकार्यमा अफगानिस्तानका लागि मूख्य भूमिका निर्वाह गर्न सक्ने टाइमले उल्लेख गरिएको छ।
बारदारसँगै अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलगायत नेताहरू पनि सूचीमा छन्।
पछिल्लो समय तालिबानभित्र विवाद भएको र हक्वानी समूहका लडाकुले बारदारलाई आक्रमण गरेको हल्ला चलेको थियो। बारदार मारिएको वा घाइते भएको हुन सक्ने आशंका व्यक्त गरिएको थियो तर बुधबार एक भिडिओमा देखिएका बारदारले आफू अहिले कान्दहार सहरमा रहेको बताएका छन्।
यो पनि पढ्नुस्:
यस्तो छ बारदारको तालिबान यात्रा
केही समयअघि अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले बारदारलाई तालिबानका अहिलेका अनुहार भनेको थियो।
५० वर्षीय बारदार तालिबान स्थापना भएदेखि अहिलेसम्म निरन्तर त्यसैमा लागेका छन्। यसबीचमा उनी कहिले सैन्य कमाण्डर बनेका छन्, कहिले देशको रक्षा मन्त्री, कहिले पाकिस्तानको जेलमा बन्दी त कहिले अमेरिकासँग प्रमुख वार्ताकार।
काबुलको राष्ट्रपति कार्यालयमा तालिबानले कब्जा जमाएपछि उनी भिडिओमा देखिएका थिए। शालिन स्वरमा उनले सबैलाई शान्त रहन भने र आफूहरूले राष्ट्रको सेवा गर्ने बताए। तालिबान लडाकुहरूलाई अरूको सम्मान गर्न पनि निर्देशन दिए।
‘जसरी हामीले यो उपलब्धि हासिल गर्यौं त्यो अपेक्षित थिएन। अल्लाहले हामीलाई विजय दिनुभएको छ,’ उक्त भिडिओमा मुल्लाह बारदारले भनेका छन्।
तालिबानका संस्थापक मुल्लाह मोहम्मद ओमरबारे किताब लेखेका तालिबान विज्ञ बेट ड्यामका अनुसार बारदार र ओमरको भेट दक्षिणी कान्दाहारमा भएको थियो। सन् १९७९ मा सोभियत युनियनले अफगानिस्तानमा अतिक्रमण गरेपछि कान्दाहारबाटै तालिबानको जन्म भएको थियो।
सन् १९९४ मा तालिबानले अफगानिस्तानभरि नियन्त्रण जमाउँदा बारदारले एउटा कुशल सैन्य कमाण्डरका रूपमा काम गरेका थिए। अमेरिकाले आक्रमण गरी २००१मा उक्त समूहलाई भूमिगत बनाएपछि सुरूमा उनले आत्मसमर्पण गर्न खोजेका थिए भने पछि तालिबानलाई फेरि संगठित गर्न केन्द्रीय भूमिका खेलेका थिए।
सन् २००१ मा अमेरिकाले आक्रमण गरेर काबुलबाट तालिबान सरकार ढाल्दा बारदार रक्षा मन्त्री थिए। त्यतिबेला उनले अमेरिकासँग आत्मसमर्पण गर्न खोजेका थिए तर त्यो तालिबानका अरूलाई स्वीकार्य भएन।
सन् २०१० पाकिस्तानबाट पक्राउ पर्नुअघि पनि उनी तत्कालीन हमिद कारजाई सरकारसँग सम्झौता गर्न गोप्य रूपमा काम गरेका थिए।
कारजाई र बारदार एउटै जाति पास्तुन डुरानीका हुन्। कारजाईले पाकिस्तानलाई धेरै पटक उनको रिहाका लागि भनेका थिए। उनी रिहा भए तालिबानहरू शान्ति वार्ताका लागि तयार हुन्छन् भने कारजाईको विश्वास थियो।
सन् २०१८ मा भने अमेरिकाले नै पाकिस्तानलाई बारदारलाई रिहा गर्न दबाब दियो। उनी रिहा भए। सुरूमा तालिबानमा उनको नेतृत्वको स्वीकार्यता र स्वास्थ्य अवस्थाबारे शंका गरिएको थियो तर केही समयमै ती शंका निमिट्यान्न भए।
उनी रिहा भएर र दोहा गए। अमेरिकासँगको शान्ति वार्ता प्रक्रियाको नेतृत्व उनैले लिए।
अमेरिकनहरूसँग उनले सम्झौताका लागि नरम भाषा बोले। उनीभन्दा अघिका वार्ताहरूमा सर्वसाधारण मारिएको विषयमा दुबै पक्षले एक अर्कालाई आरोप लगाउँदा तनावपूर्ण वातावरण बन्थ्यो तर मुल्लाह बारदारले कहिल्यै पनि चर्को स्वरमा बोलेको सुनिएन।
वार्ताकारहरू उनलाई शान्त, स्थीर र बुझ्न कठिन मानिसका रूपमा ब्याख्या गर्छन्। तर जब वार्ता कुनै बिन्दुमा गएर अड्किँदा ब्रेकथ्रु गर्ने उनी नै हुन्थे। वार्ताका क्रममा उनी वार्ता टोलीका अन्य सदस्यहरूलाई बोल्न दिन्थे।
‘उनी आफैंले भनेकै हुनुपर्छ भन्ने खालका व्यक्ति होइनन्,’ वार्तामा सहभागी एक जनाले भनेका छन्।
कतिपयलाई भने उनले थोरै बोल्दा भन्न खोजेको के हो भन्ने नै नबुझिएकोजस्तो लाग्छ।
पछिल्लो समय एउटा युरोपियन डेलिगेसनको वार्ताका क्रममा उनले पास्तो भाषामा लेखेको एउटा वक्तव्यमात्र पढेर सुनाएका थिए।
‘उनी तालिबानका सबैभन्दा महत्वपूर्ण व्यक्ति हुन् किनभने उनी स्थापनादेखि तालिबासँग थिए र हरेक महत्वपूर्ण मोडमा निर्णय गरेका थिए,’ इन्टरनेशनल क्राइसिस ग्रुपका अफगानस्थित कन्सल्ट्यान्ट इब्राहिम बाहिसले भने।
दुई दशकसम्म तालिबानहरूले युद्ध प्रशासन बनाएका थिए। हरेक प्रान्तमा उनीहरू राजनीतिक, न्यायिक नेता र सैन्य कमाण्डर नियुक्त गर्थे। तर तिनीहरू बिरलै सार्वजनिक रूपमा देखिन्थे।
तालिबानका एमिर अर्थात् आध्यात्मिक नेता मुल्लाह हैबतुल्लाह अखुन्जादा पाकिस्तानको क्वेटा सहर नजिकै बस्ने अनुमान गरिन्छ।
तालिबानका दैनिक गतिविधि उनका दुई सहयोगी मुल्लाह याकुब (तालिबानका संस्थापक मुल्लाह मोहम्मद ओमारका जेठा छोरा) र सैन्य प्रमुख सिराजुद्दिन हक्वानीले चलाउँथे।
‘पहिला देखिएको त्यही संरचना उनीहरूले सरकार चलाउँदा नदेखिन सक्छ,’ अफगानिस्तानमा तालिबान शासनबारे पुस्तक लेखेका आस्ले ज्याक्सनले द वाल स्ट्रिट जर्नलसँग भनेका छन्,‘अब यो अभियानलाई कसले नेतृत्व गर्छ भन्ने कसैलाई थाहा छैन किनकी तालिबानहरूले केही भनेकै छैनन्।’
अफगानिस्तानको राजधानी काबुल कब्जा गर्दैगर्दा पश्चिमा कूटनीतिज्ञहरूलाई बारदारले सबै जनाले आफ्ना कर्मचारी र नागरिक उद्धार नगरेसम्म काबुलमा नपस्ने बताएका थिए। राष्ट्रपति असरफ घानी नै देश छोडेर भागेपछि गत आइतबार तालिबानहरू काबुल छिरेका हुन्।
तालिबान अब एउटा चुनौतीपूर्ण समयमा प्रवेश गरेको छ। काबुलसहित देशका सहरका मानिसहरूलाई उसप्रति विश्वास छैन।
काबुलको दैनिकी अस्तव्यस्त छ। यही बेलमा मौका छोप्ने समूहले हिंसा र लुटपाट मच्चाउन सक्छन्।
पश्चिमा अधिकारीहरूले यसपालि तालिबानहरूले मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धीहरूको पालना गर्ने आशा गरेका छन्। बदलामा उनीहरूले तालिबानमा वैधानिकता र आर्थिक सहयोग गर्नेछन्।
दुई महिनाअघि बारदारले काबुलस्थित विदेशी नियोगलाई निरन्तरता दिएर अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर समन्वय गर्न आफू तयार रहेको बताएका थिए।
उनको नरम शैलीकै कारण धेरै पश्चिमा मिडियाले पनि उनको तारिफ गरेका छन्। बेलायती समाचार पत्र द गार्डियनले २० वर्षको युद्धमा निर्विवाद विजेता बारदार हुन् भनेको छ।
तालिबानहरूले अमेरिकी सेनाले छोड्नासाथ उसले बनाएको सेनालाई पाखा लगाउँदै काबुल कब्जा गरेपछि बारदार पक्कै पनि विजयी भएका छन् तर अब उनले त्यही सफलता भने नपाउन सक्छन्। किनकी युद्ध जित्नु र सरकार चलाउनु दुई फरक कुरा हुन्!
(वाल स्ट्रिट जर्नल, द गार्डियनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित)