सभामुख अग्नीप्रसाद सापकोटाले संविधान र संघीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूतरूपमा संघीय संसद ठीक बाटोमै अघि बढिरहेको बताएका छन्।
राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित विधायिकी खुल्लापन र लोकतन्त्र मेला कार्यक्रममा उनले पछिल्ला समयमा भएका बहस, छलफल र गतिविधि विश्वकै लागि अध्ययन गर्ने ठूलोे विश्वविद्यालय बनेको धारणा व्यक्त गरे।
सभामुख सापकोटाले भने, 'समुद्र मन्थन गरेझैं धेरै छलफल र बहसका साथ जारी भएको नेपालको संविधान महत्वाकांक्षी छ, जनतालाई अधिकार प्रदान गर्ने हिसाबले विशिष्ट र मौलिक छ। लोकतन्त्र भनेको भाषणमा होइन व्यवहारमा अभ्यास गर्ने विषय हो।'
संघीय संसदको ओजलाई माथि उठाउन सबैले भीष्म प्रतिज्ञा र सङ्कल्प गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
उनले भने, 'संविधान कार्यान्वयनमा दूरदर्शिता र प्रतिबद्धता पाटोमा कमजोरी छ। कार्यसम्पादनमा देखिएका कमीकमजोरी सुधार, परिमार्जनका लागि कडा मेहनत र इमान्दार प्रयास आवश्यक छ।'
प्रतिनिधिसभा विघटन प्रतिनिधिसभाले मात्र गर्न सक्ने व्यवस्था हुन आवश्यक रहेको बताउँदै उनले भने, 'संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि कानुन निर्माण लगायतका विषयमा केकस्ता कमजोरी भए त्यसको गम्भीर आत्मसमीक्षा गरिनुपर्छ।' रासस