भारतका चर्चित युवा कम्युनिष्ट नेता कन्हैया कुमार भारतीय कंग्रेस पार्टीमा प्रवेश गर्ने भएका छन्।
गुजरातका विधान सभा सदस्य जिन्गेश मेवानीले आफू र कन्हैयाकुमार २८ सेप्तेम्बरमा कंग्रेस प्रवेश गर्न लागेको बताएको समाचार संस्था पिटिआईले जनाएको छ।
यसबारे थप कुरा पार्टी प्रवेश गरिसकेपछि मात्रै जानकारी गराउने मेवानीले बताए।
सन् २०१७ मा भएको विधानसभा चुनावमा मेवानीले स्वतन्त्र उम्मेद्वारी दिँदै गुजरातको भादगामबाट जितेका थिए।
यता कुमारले सन् २०१९को लोक सभा चुनाव बेगुसाराईबाट लडेका थिए। त्यहाँ उनलाई भारतीय जनता पार्टीका उम्मेद्वार गिरिराज सिंहले पराजित गरेका थिए।
उनीहरूलाई पार्टी प्रवेश गराउन कार्यक्रममा कांग्रेसका नेता राहुल गान्धी र गुजरातका युवा नेता हार्दिक पटेल सहभागी हुने पिटिआईको समाचारमा उल्लेख छ।
'हामी देशको विकास, कंग्रेस पार्टी, (महात्मा) गान्धी, सरदार (वल्लबभाइ पटेल) र (जवाहारलाल) नेहरूको आदर्शहरूलाई बलियो बनाउन क्रान्तिकारी युवाहरूलाई स्वागत गर्छौं,' कंग्रेसको गुजरात युनिटका अध्यक्षसमेत रहेका पटेलले विज्ञप्तिमार्फत् भनेका छन्।
कन्हैया कुमार जवाहारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनियनका अध्यक्ष र अल इन्डिया स्टुडेन्टस् फेडेरेसनका राष्ट्रिय नेता थिए। पछिल्लो समय उनी कम्युनिष्ट पार्टी अफ इन्डियामा आवद्ध थिए।