नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत म्याग्दी र मुस्ताङ जिल्लाका सबै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ।
म्याग्दीको गाउँ/नगर अधिवेशनमा चार स्थानीय तहमा सर्वसम्मत र दुईमा निर्वाचनबाट नेतृत्व चयन भएको छ भने मुस्ताङका पाँचवटै गाउँपालिकामा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ।
म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन गरिएको छ भने अन्य चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो। बेनी नगर सभापति पदमा रवीन्द्र कार्की निर्वाचित भए।
आइतबार सम्पन्न निर्वाचनमा कार्कीले सभापतिका उम्मेदवार विक्रम बोगटीलाई आठ मतले पराजित गर्दै विजयी भएको निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीले बताए।
अन्नपूर्ण गाउँपालिकाको सभापतिमा बलबहादुर तिलिजा निर्वाचित भए। सभापतिका प्रत्यासी कृष्णप्रसाद बरुवाललाई एक मतले पराजित गर्दै तिलिजा निर्वाचित भएका हुन्।
रघुगङ्गा गाउँपालिकामा मनकुमार शेरपुञ्जा सर्वसम्मत सभापतिमा चयन भए। उनी रघुगङ्गा–६ पाखापानीका वडाध्यक्षसमेत हुन्।
पश्चिम म्याग्दीको धौलागिरिमा प्रेम पुन ,मालिकामा खिम पुनः र मङ्गला गाउँपालिकामा नरसिंह खत्री सर्वसम्मत सभापति निर्वाचित भए।
यसैगरी मुस्ताङका लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, घरपझोङ, थासाङ र वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ।
कांग्रेस मुस्ताङका अनुसार लोमान्थाङमा छेवाङ झिम्मी विष्ट, लोघेकर दामोदरकुण्डमा टसी लेन्डुप गुरुङ, घरपझोङमा यामप्रसाद थकाली, थासाङमा रुपेश गौचन र वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाको सभापतिमा आङजिङ गुरुङ चयन भएका छन्।