प्रतिनिधि सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोधका कायमै राख्दा सुचारू हुनसकेको छैन।
बैठक प्रारम्भ हुनासाथ सदाझैं प्रतिपक्षी दल एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरूद्ध नगरी सदनको काम कारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गरे।
उनले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको स्मरण गराएका थिए।
अवरोधकै बीचमा सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धीको अध्यादेश खारेजी र विधेयक प्रमाणीकरणसमबन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाए।
प्रमाणीकरण गरिएको विधेयकहरूमा आर्थिक विधेयक-२०७८ र राष्ट्र ऋण उठाउने विधेयक- २०७८ छन्।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन-२०७८ पेश गरे।
नेकपा (एमाले) ले अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध जारी राखेको छ।
प्रतिनिधि सभाको अर्को बैठक यही असोज १९ गते १ बजे बस्नेछ। रासस