टापु राष्ट्र श्रीलंकाले राजधानी कोलम्बोको बन्दरगाहमा टर्मिनल बनाउन भारतीय कम्पनी अडानी ग्रुपसँग सम्झौता गरेको छ।
समाचार संस्था एएफपीका अनुसार श्रीलंका पोर्ट अथोरिटीले ७ सय मिलियन अमेरिकी डलर (८३ अर्ब बढी रुपैयाँ) को उक्त परियोजनाका लागि बिहीबार सम्झौता गरेको हो। उक्त टर्मिनल श्रीलंकाको कम्पनी जोन किल्स होल्डिङ, अडानी ग्रुप र पोर्ट अथोरिटीको संयुक्त लगानीमा बन्ने छ।
अदानी ग्रुप र उसको स्थानीय साझेदार जोन किल्स होल्डिङले ५१ र ३४ गरी ८५ प्रतिशत लगानी गर्नेछन् भने श्रीलंका सरकारको स्वामित्वमा रहेको श्रीलंका पोर्ट अथोरिटीले १५ प्रतिशत लगानी गर्ने भारतीय समाचार पत्र द हिन्दुले जनाएको छ।
३५ वर्षसम्म उक्त टर्मिनल लगानीकर्ताले सञ्चालन गर्ने र त्यसपछि श्रीलंका सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ।
श्रीलंकाको बन्दरगाह क्षेत्रमा यो अहिलेसम्मकै ठूलो वैदेशिक लगानी भएको श्रीलंका पोर्ट अथोरिटीले जनाएको छ।
श्रीलंकाको हम्बानटोटा बन्दरगाहमा चीनले लगानी गरेको थियो। सन् २०१७ मा श्रीलंकाले चीनले दिएको ऋण तिर्न नसक्ने बताएपछि ९९ वर्षका लागि उक्त बन्दरगाह चीनलाई नै भाडामा दिएको परिप्रेक्ष्यमा भारतीय कम्पनीले यति ठूलो रकम श्रीलंकाको बन्दरगाह क्षेत्रमा लगानी गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
भारतीय कम्पनीले बनाउन लागेको टर्मिनल चिनियाँहरूले सञ्चालन गरिरहेको कोलम्बो इन्टरनेशनल कन्टेनर टर्मिनलसँग जोडिएको छ।