उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ। कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार नयाँ बनाइएको एन्टीएयरक्राफ्ट मिसाइलको बिहीबार परीक्षण गरिएको हो।
यो सातामात्रै उत्तर कोरियाले दुई पटक मिसाइल परीक्षण गरिसकेको छ। गत बुधबार उत्तर कोरियाले आफूले हाइपरसोनिक मिसाइल परीक्षण गरेको जनाएको थियो।
द न्युयोर्क टाइम्सका अनुसार यो वर्षमात्रै उत्तर कोरियाले सात पटक मिसाइल परीक्षण गरिसकेको छ।
बिहीबार परीक्षण गरिएको मिसाइल दूरी, गतिका हिसाबले पहिलेका मिसाइलभन्दा निकै प्रभावकारी रहेको कोरियन सेन्ट्रल न्युज एजेन्सीले उल्लेख गरेको छ।
उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिणसँगको हटलाइन टेलिफोन सेवा फेरि सञ्चालन गर्न तयार रहेको बताएका बेला उत्तर कोरियाले पछिल्लो मिसाइल परीक्षण गरेको हो।
दक्षिण कोरियाको सरकारले उत्तरले गरिरहेको मिसाइल परीक्षणबारे सार्वजनिक प्रतिक्रिया दिइसकेको छैन।