कतारमा शनिबार पहिलो पटक विधायक छान्नका लागि चुनाव भएको छ। अलजजिरा टेलिभिजनका अनुसार ४५ सदस्यीय सुरा काउन्सिलका ३० विधायकका लागि शनिबार मतदान भएको हो।
अर्को वर्ष विश्वकप फुटबल आयोजना गर्न लागेको कतारमा पहिलो पटक आमचुनाव भएको हो। शनिबारको चुनावमा ६३.५ प्रतिशत मतदान भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
३० सिटका लागि भएको चुनावमा २३३ जना उम्मेदवार थिए। तीमध्ये २६ जना महिलाले पनि चुनावमा प्रतिष्पर्धा गरेका थिए।
मतदान गर्नका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै बुथ बनाइएको थियो।
सुरा काउन्सिलका बाँकी १५ जना सदस्य कतारका अमिरले नियुक्त गर्ने गर्छन्। सुरा काउन्सिलले राज्यका केही कानुन र बजेट पारित गर्छ। प्रतिरक्षा, सुरक्षा, आर्थिक र लगानीसम्बन्धी नीतिमा भने उसले कुनै राय दिन सक्दैन।
कतारमा राजनीतिक दलहरू छैनन। शनिबार पहिलो पटक विधायक छान्न मतदान गरेका धेरैले नौलो अनुभव भएको बताएका छन्।
हेर्नुस् तस्बिरहरू: