भारतीय राज्य उत्तर प्रदेशमा आइतबार भएको एउटा हिंसात्मक घटनामा ८ जनाको मृत्यु भएको छ। नेपालको कैलालीसँग सीमा जोडिएको लखिमपुर जिल्लाको तिकुनियामा भारतको केन्द्रीय गृह राज्यमन्त्री अजयकुमार मिश्रका छोराले चलाएको गाडीले किसानहरूलाई कुल्चेर मारेको आरोप लागेको छ।
एनडिटिभीका अनुसार आइतबार तिकुनियामा एउटा कार्यक्रम आयोजना गरिएको थियो। तिकुनिया केन्द्रीय गृह राज्यमन्त्री मिश्रको पुर्ख्यौली घर भएको ठाउँ हो। उक्त कार्यक्रमा उनी र उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव मौर्य सहभागी हुन जान लागेका थिए।
केन्द्रीय सरकारले ल्याएका तीन वटा विधेयकको केही समयदेखि विरोध गरिरहेका किसानहरूले उपमुख्यमन्त्री र केन्द्रीय गृह राज्यमन्त्रीलाई कालो झन्डा देखाउने कार्यक्रम राखेका थिए। कालोझन्डा देखाउने थाहा पाएपछि मिश्र र मौर्यले रूट बदलेका थिए।
उनीहरूले रूट बदलेको थाहा पाएपछि फर्किन लाग्दा राज्यमन्त्री मिश्रका छोराले चलाएकोसहित गाडीहरू आएको देखेपछि किसानहरूले उनीहरूलाई नै कालो झन्डा देखाएको आन्दोलनरत किसानले जनाएका छन्। त्यसपछि मन्त्री मिश्रका छोराले कालो झन्डा देखाउने र अरू किसानमाथि गाडीले कुदाएको किसानहरूको आरोप छ।
गाडीले किच्दा चार जना किसानको मृत्यु भएको छ।
आफ्ना साथीहरू मारिएपछि आक्रोशित बनेका किसानले ती गाडीमा आगो लगाइदिएका थिए भने त्यसमा सवार चार जनालाई कुटपिट गरेका थिए। कुटपिटबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक चालक र तीन जना भारतीय जनता पार्टीका कार्यकर्ता भएको उल्लेख गरिएको छ।
गृह राज्यमन्त्री मिश्रले भने आफ्ना छोरा घटनामा संलग्न नभएको दाबी गरेका छन्।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटना दु:खद भएको बताएका छन्।
उत्तरप्रदेशका पूर्वमुख्यमन्त्रीहरूले केन्द्रीय मन्त्रीका छोरा नै घटनामा सहभागी भएको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।