सन् २०१९ को अन्त्यबाट सुरू भएको कोरोनाभाइरसको महामारीले संसारभरि यात्रालाई अवरोध गर्यो। लकडाउनका बेला मानिसहरू घरबाट बाहिर निस्कन पाएनन् भने विश्वका शक्तिशाली राष्ट्रका नेताहरूले पनि एक-अर्काको मुलुकमा भ्रमण गर्न सकेनन्।
गत वर्ष कोरोनाविरूद्धको खोप आएको र संक्रमण घट्दै गएपछि पछिल्लो समय धेरै देशले प्रतिबन्ध खुकुलो बनाएका छन्। अन्तर्राष्ट्रिय सभा सम्मेलन पनि भौतिक रूपमै हुन थालेका छन्।
यही साता इटालीको रोम र स्कटल्यान्डको ग्लास्गोमा दुई ठूला अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछन्।
रोममा शनिबार र आइतबार विश्वका २० ठूला अर्थतन्त्र भएका देश जी-२० को शिखर सम्मेलन हुँदै छ भने ग्लास्गोमा राष्ट्रसंघीय जलवायु सम्मेलन हुँदैछ। जसलाई कोप-२६ भनिएको छ।
यी दुबै सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखहरू सहभागी हुँदैछन्। तर चिनियाँ राष्ट्रपति सी चिनफिङ भने यी दुबै सम्मेलनमा देखिने छैनन्। जी-२० को सम्मेलनमा राष्ट्रपति सीले भर्चुअल सम्बोधन गर्ने चाइना डेलीले जनाएको छ। कोप-२६ मा सी नजानेबारे बेइजिङले कुनै घोषणा गरेको छैन तर उनी उक्त सम्मेलन सहभागी हुने सम्भावना छैन।
यस विषयमा केही समयअघि अमेरिकी अधिकारीहरूले असन्तुष्टि नै जनाएका थिए। जलवायु परिवर्तनमा प्रभाव पार्ने कार्बन उत्सर्जन धेरै गर्ने मुलुकमध्ये चीन पनि एक हो। त्यही भएर कोप-२६ जस्ता सम्मेलनमा चीनका शीर्ष नेताको सहभागिता हुनु पर्छ भन्ने उनीहरूको ठम्याइ छ।
अहिले युरोपमा भइरहेका दुई सम्मेलनमा मात्र होइन सन् २०२१ भरि नै सीले चीन छोड्ने सम्भावना छैन।
सीले चीन नछोड्ने र नेताहरूलाई बेइजिङमा स्वागत नगर्ने भएपछि यस वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेन र सीबीच भौतिक रूपमा भेट हुने सम्भावना न्यून हुँदै गएको छ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले सन् २०२१ भरि सीले चीनबाहिर जान नचाहेको बताएका छन्।
चीनको वुहानबाट कोरोना महामारी सुरू हुनुभन्दा अघि सीले विदेश भ्रमण गर्ने र विदेशी नेतालाई बेइजिङमा स्वागत गर्ने क्रम बढ्दो थियो।
वाल स्ट्रिट जर्नलका अनुसार सन् २०१९ मा सीले २३ विदेशी नेतालाई स्वागत गरेका थिए भने ११ मुलुकको भ्रमण गरेका थिए। सन् २०२० को जनवरीमा सीले म्यानमारको भ्रमण गरेका थिए भने त्यही वर्ष मार्चमा पाकिस्तानी राष्ट्रपतिलाई बेइजिङमा स्वागत गरेका थिए। त्यसयता उनले कुनै पनि विदेशी नेताले फेस टु फेस भेटेका छैनन्।
उनीमात्र होइन यो अवधिमा प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ कम्युनिष्ट पार्टीका अरू पाँच जना पोलिटब्युरो सदस्य पनि विदेश भ्रमणमा गएका छैनन्। विदेश मन्त्री याङ यीले भने विदेश भ्रमण गरिरहेका छन्।
चीनले कोरोनाभाइरसको नियन्त्रणमा लागि निकै कडा मापदण्ड अपनाएको थियो। अहिले पनि केही दर्जन संक्रमितहरू भेटिएका सहरमा पूर्ण रूपमा लकडाउन गरिएको छ। १४ वटा देशसँग भू-सीमा जोडिएको चीनले विदेशीलाई प्रवेश निकै कडा गरेको छ।
कोरोना नियन्त्रणका लागि अपनाइएका मापदण्डको महत्व कति छ भन्ने सन्देश दिनका लागि पनि सी चीनबाहिर नगएको हुन सक्ने विश्लेषकहरूले बताएका छन्।