इराकी प्रधानमन्त्री मुस्ताफा अल–कादिमी निवासमा आइतबार बिहानै ड्रोन आक्रमण भएको छ।
आइतबार बिहान भएको आक्रमणमा प्रधानमन्त्रीको आवासलाई निशानामा पारिएको रोयटर्सले जनाएको छ।
बिस्फोटक ड्रोन आक्रमण गरि प्रधानमन्त्रीको हत्या गर्ने प्रयास भए पनि उनी पूर्ण सुरक्षित रहेको इराकको सेनाले बताएको छ।
इराकी सेनाका तर्फबाट आक्रमणपछि जारी गरिएको वत्तव्य अनुसार राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा हमला भएको हो।
यसैबीच प्रधानमन्त्री मुस्ताफा अल–कादिमीले पनि आफू सुरक्षित रहेको बताएका छन्। उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट ट्विट गर्दै आफू सुरक्षित रहेको र शान्ति कायम राख्न अपीलसमेत गरेका छन्।
रोयटर्सका अनुसार इराक सरकारका दुई अधिकारीले प्रधानमन्त्री निवासमा कम्तीमा एक विष्फोट भएको बताएका छन्। उनीहरूले पनि प्रधानमन्त्री सुरक्षित रहेको बताएका छन् ।
अहिलेसम्म कुनै पनि संगठनले हमलाको जिम्मेबारी लिएका छैनन्।