बेइजिङमा सोमबारदेखि चिनियाँ कम्युनिष्ट पार्टीको एउटा महत्वपूर्ण बैठक भइरहेको छ।
१९ औं राष्ट्रिय अधिवेशनबाट चुनिएका चिनियाँ कम्युनिष्ट पार्टीका झन्डै ४ सय जना केन्द्रीय सदस्य (बैकल्पिकसमेत) सहभागी उक्त बैठकले पार्टीको सय वर्षको अवधिमा प्राप्त महत्वपूर्ण उपलब्धी र अनुभवलाई समेटेर संकल्प पत्र जारी गर्ने अपेक्षा गरिएको छ। सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टीले यही वर्ष सयौं वर्षगाँठ मनाएको थियो।
बैठकको अध्यक्षता कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले गरिरहेका छन्।
बैठक चार दिनसम्म चल्ने जनाइएको छ। अर्को वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशन हुँदैछ। उक्त अधिवेशनबाट चिनफिङ नै नेतृत्वमा चुनिने लगभग पक्का छ।
यसअघि चीनमा कोही पनि व्यक्ति दुई पटकभन्दा बढी पार्टी महासचिव हुन नपाउने व्यवस्था थियो। त्यही भएर चिनियाँ राष्ट्रपतिहरूले आफ्नो दोस्रो कार्यकाल सकिनुअघि नै उत्तराधिकारीको को हो भन्ने सन्देश दिइसकेका हुन्थे।
२०१२ मा चिनियाँ कम्युनिष्ट पार्टी र २०१३ मा चिनियाँ शासनको बागडोर सम्हालेका चिनफिङले भने २०१८ मा आफ्ना उत्तराधिकारी को हुन् भन्ने संकेत गरेनन्। बरू संविधानमा भएको दुई पटकभन्दा बढी राष्ट्रपति हुन नपाउने प्रावधान नै हटाइदिए। संविधानबाट उक्त प्रावधान हटेपछि ६८ वर्षीय चिनफिङलाई अब निरन्तर सत्तामा रहिरहन कुनै अवरोध छैन। उनले तेस्रो कार्यकालसम्म मात्रै चीन हाँक्छन् कि त्यसपछि पनि सत्तामा रहिरहन्छन् भन्ने अहिले प्रष्ट भइसकेको छैन।
बिहीबार सकिने केन्द्रीय कमिटीको बैठक आगामी कार्यकालका लागि चिनफिङलाई थप शक्तिशाली बनाउँदै ऐतिहासिक संकल्प जारी गर्ने विश्लेषकहरूले बताएका छ।
चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो इतिहासमा यसअघि दुई पटकमात्र यस्तो ऐतिहासिक संकल्प जारी गरेको थियो।
सन् १९४५ मा माओ त्सेतुङलाई पार्टीको सर्वोच्च नेताको रूपमा स्थापना गर्न र सन् १९८१ सांस्कृतिक क्रान्तिलाई गम्भीर त्रुटी मान्ने निर्णय गर्दा पार्टीको केन्द्रीय कमिटीले यस्तो संकल्प जारी गरेको थियो।
बेइजिङमा जरी बैठकका एजेन्डाहरू सार्वजनिक गरिएको छैन। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीले पारित गरेका कुराहरू नै पछि सरकारको नीति र कानुन बनेर आउने गरेका छन्।
यसअघि सन् २०१६ मा बसेको केन्द्रीय कमिटीको बैठकले चिनफिङलाई पार्टीको ‘कोर लिडर’ का रूपमा राखेको थियो।