कानून, न्याय तथा सङ्घीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्यायालयमा देखिएको हालको समस्या छिट्टै समाधान हुनेमा सरकार विश्वस्त रहेको बताएका छन्।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ वडा कार्यालय भवन तथा सामुदायिक स्वास्थ्य इकाइ भवनको शनिबार उद्घाटन गर्दै उनले न्यायालयको विवाद ‘स्वयं स्वतन्त्र ढङ्गले’ समाधान हुनेमा सरकार विश्वस्त रहेको बताए।
‘हाल न्यायपालिकाभित्रको समस्या समाधान स्वयं स्वतन्त्र ढङ्गले उहाँहरु आफैँले समाधान गर्नेमा सरकार विश्वस्त छ। सरकारको चाहना पनि त्यही हो’, उनले भने।
न्यायलयभित्र कतिपय सुधारका विषय रहेकाले बार र बेञ्चबीचको आपसी विवाद टुङ्गिएर सद्भावतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘जनताले न्याय पाउने बाटो धेरै दिन अवरुद्ध हुनुहुँदैन, सरकारको आग्रह र अपेक्षा छ, लामो समय यो विवाद नबल्झियोस्’, मन्त्री बडूले भने।
न्यायसम्पादनमा समस्या देखिँदै आएकाले यस क्षेत्रमा सङ्घीयता लागू भइनसकेको प्रभाव देखिएको उनले उल्लेख गरेका थिए।
‘न्याय क्षेत्रमा सङ्घीयता लागू भए सर्वोच्चमा आएर मुद्दा थन्किने, चाप बढ्ने र न्याय ढिला हुने अवस्था आउने छैन, अब उच्च अदालत र जिल्ला अदातलमा मुद्दालाई विकेन्द्रीकरणतर्फ लाग्नुपर्छ’, उनले भने।
न्याय क्षेत्रमा सङ्घीयता लागू गर्दा पुस्तौनी न्याय खोज्नेलाई राहत मिल्ने उल्लेख गर्दै मन्त्री बडूले वर्तमान संविधानअनुसार जनतालाई छिटोछरितो र सर्वसुलभ न्याय प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए। ‘अब मुद्दा दायर भएपछि कति समयमा छिनोफानो हुने भन्ने बनाउनुपर्छ,’ उनले भने।