नेपाली कांग्रेस बाँकेको पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ।
नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिकामा संस्थापन पक्षको प्यानल नै बिजयी भएको छ।
बिहीबार मतदान भए पनि कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाको मतपरिणाम आइसकेको छैन।
त्यस्तै सर्वसम्मत नेतृत्व चयन गरिएको खजुरा र जानकी गाउँपालिकामा पनि देउवा पक्षकै नेता आएका छन्।
आठ पालिकामध्ये अहिलेसम्म संस्थापनइतर पक्षले नरैनापुर र डुडुवा गाउँपालिकामा मात्रै नेतृत्व पाएको छ। यहाँ पनि सर्वसम्मत नेतृत्व चयन भएको थियो। यी दुई पालिकामा नेतृत्व संस्थापन इतर पक्ष धरको भए पनि अन्य पदहरुमा भने संस्थापन पक्षधर पनि निर्वाचित भएका छन्।
साथै नेपालगन्ज उपमहानगरपालिकाको सभापतिसहित संस्थापन पक्षको पुरै प्यानल निर्वाचित भएको छ।
सभापतिमा प्रशान्त विष्ट निर्वाचित भए। उनले २ सय ४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी संस्थापनइतर पक्षकी उमा थापा मगरले ७६ र संस्थापन पक्षकै विनोद रिजालले जम्मा ४१ मत मात्रै प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले बताए।
उपसभापतिमा संस्थापन पक्षका धनराज बर्मा र मोहमद कमाल अन्सारी निर्वाचित भए। बर्माले २ सय ३७ र अन्सारीले १ सय ४४ मत प्राप्त गरेका थिए।
सचिवमा निर्वाचित भएका संस्थापन पक्षकै सुरेन्द्रकुमार श्रेष्ठले २ सय ९ र हरिबाबु घिमिरेले १ सय ६७ मत ल्याए भने सहसचिवमा निर्वाचित भएका संस्थापन पक्षका मार्टिन ओलीले १ सय ८५ र शरदराज अधिकारीले १ सय ५२ मत प्राप्त गरेका छन्।
प्रदेश क्षेत्रीय प्रतिनिधिमा पनि १ सय ७८ मत प्राप्त गरी संस्थापन पक्षका गोकर्ण आचार्य विजयी भएका थिए। नेपालगन्ज उपमहानगरमा रहेका ३ सय ८२ मत मध्ये ३ सय ७७ मत खसेको थियो। संस्थापन पक्षले विष्टको प्यानललाई आधिकारिक रुपमा उम्मेदवारी बनाएको थियो।
बैजनाथको सभापतिमा खत्री
बैजनाथ गाउँपालिका सभापतिमा देवबहादुर खत्री ६८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी केशर खड्काले ३९ र रामबहादुर बिष्टले २७ मत प्राप्त गरेका थिए।
उपसभापतिमा सुरबिक्रम शाहले ८३ र गोपाल थारुले ७० मत प्राप्त गरि विजयी भए। सचिवमा टंकबहादुर बुढामगरले ७३ र कृष्णबहादुर कुँवरले ६८ मत प्राप्त गरेका थिए।
सहसचिवमा रुपा चौधरीले ९७ र पवनकुमार पुनमगरले ९० मत पाएर विजयी भए। यहाँ प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधिमा २ जना निर्विरोध निर्वाचित भएको मतदान अधिकृत गणेशप्रसाद थारुले बताए।
बैजनाथमा खसेको कुल १ सय ४९ मतमध्ये शत प्रतिशत खसेको र ८ मत बदर भएको थियो। निर्वाचित भएको यस गाउँपालिका कार्यसमितिको टिम सभापति देउवानिकट हुन्।