पछिल्लो समय कोरोना संक्रमण बढेको भन्दै अष्ट्रियाले देशव्यापी पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ।
केही दिनअघि खोप नलगाएका मानिसका लागि मात्र लकडाउनको घोषणा गरेको अष्ट्रियाले संक्रमण नरोकिएको भन्दै आगामी सोमबारदेखि पूर्ण रूपमा सबैलाई लकडाउनको घोषणा गरेको हो।
यो लकडाउन बढीमा २० दिनसम्म जारी रहने चान्सलर एलेक्जेन्डर स्केलेन्वर्गले बताएका छन्।
पछिल्लो समय अष्ट्रियासँगै समग्र युरोपमा कोरोना संक्रमण फैलिइरहेको छ। धेरै युरापेली मुलुकले संक्रमण बढेसँगै प्रतिबन्धका नियम पनि ल्याइरहेका छन्। ‘हामी कोरोनाको पाँचौं लहर आओस् भन्ने चाहँदैनौं’, स्केलेन्वर्गले भने।
यस्तै कोभिड–१९ विरुद्धको खोपलाई पनि अनिवार्य बनाइने उनले भनेका छन्। आगामी फेब्रुअरीदेखि अष्ट्रियामा कोरोना खोप लगाएको प्रमाण आवश्यक कानुनी प्रक्रिया हुने उनले बताएका छन्।
उनले पछिल्लो केही समययता अष्ट्रियामा कोरोना खोप लगाउने मानिसको संख्या पनि बढेको बताएका छन्। अष्ट्रिया युरोपमा सबैभन्दा सुस्त कोरोना खोप अभियान चलाउनेमध्येको एक मुलुक हो।
पछिल्ला केही सातामा अष्ट्रियामा कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको पाइएको छ । पछिल्लो एक सातामा अष्ट्रियामा १ लाख व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्री वोल्फागांग मक्सस्टेनले लकडाउनको विकल्प नभएको बताएका छन्। सीमा नाकाहरुमा कडाइ गर्नुका साथै सर्वसाधारणलाई हिँडडुलमा पनि कडाइ गरिएको छ।
सार्वजनिक स्थल, क्लब, डिस्को र पबहरु सञ्चालनमा पनि रोक लगाइएको समाचारमा जनाइएको छ।