नेपाली कांग्रेस दाङमा सभापति शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छ।
यहाँ संस्थापनइतर समूह बलियो छ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्रमा हिजोआज अधिवेशन भइरहेका छन्।
दाङका ६ प्रदेश निर्वाचन क्षेत्रहरुमा पाँच वटामा संस्थापन इतर पक्षधरले सभापति पद जितेका छन्।
दाङको निर्वाचन क्षेत्र नम्बर १ (क) मा श्रीपद चौधरी र १ (ख) मा निर्वाचित दिनेश गिरी दुबै संस्थापनइतर पक्षधर हुन्। यी दुबै स्थानमा उनीहरुका प्यानल नै बिजयी भएका छन्।
निर्वाचन क्षेत्र नम्बर २ (क) को सभापतिमा निर्वाचित प्रकाश श्रेष्ठ मात्रै संस्थापन पक्षधर रहेको कांग्रेस दाङका एक जना पदाधिकारीले बताए। यहाँ पनि उनको प्यानल नै निर्वाचित भएको छ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ (ख) को सभापतिमा निर्वाचित अभियान बस्नेत पनि संस्थापनइतर पक्षधर हुन्। यहाँ बस्नेतको टिमले अधिकांश पदहरुमा जिते पनि केही पदहरुमा संस्थापन पक्षधर पनि निर्वाचित भएका छन्।
निर्वाचन क्षेत्र नम्बर ३ (क) मा देबेन्द्र रिजाल र निर्वाचन क्षेत्र नम्बर ३ (ख)मा खिमबहादुर वली प्रदेश सभापतिमा निर्वाचित भएका छन्। उनीहरु दुबै संस्थापनइतर पक्षधर हुन्। रिजालको प्यानलबाट एक सचिवबाहेक अन्य सबै पदाधिकारीले जितेका छन् भने वलीको सम्पूर्ण प्यानल निर्वाचित भएको छ।
दाङमा केन्द्रीय सदस्य दीपक गिरीनिकटहरू नै बलिया देखिएका छन्। नाताले गिरीका दाजु पर्ने गहेन्द्र गिरीनिकट दाङमा कमजोर छन्।
नेता खुमबहादुर खड्काको निधनपछि पार्टीभित्र यी दाजुभाइले दुई लाइन गुट चलाउने गरेका छन्। अधिवेशनको मरिणाम हेर्दा उनीहरुको गृह नगर दाङ निर्वाचन क्षेत्र नम्बर ३ का (क) र (ख) दुबै प्रदेश सभामा दीपकनिकटले जितेका छन्।