नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंगलबार भएको संघीय प्रतिनिधि चुन्न भएको मतदान उल्लासपूर्ण देखिएको छ।
दाङ निर्वाचन क्षेत्र नं. ३ को तुलसीपुर उद्योग वाणिज्य संघको सभाहल दोघरेमा जारी मतदान निकै उत्साह र उल्लासपूर्ण देखिएको हो।
कांग्रेसको आन्तरिक महाधिवेशन आम निर्वाचनको झझल्को दिने खालको देखिन्थ्यो।
सयौं नेता कार्यकर्ता आ-आफ्ना उम्मेदवारको पक्षमा भोट मागिरहेका देखिन्थे। उनीहरूले प्यानल अनुसारका आफ्ना उम्मेदवारका पम्प्लेट लगायत प्रचार सामग्री बोकेका थिए।
निर्वाचनस्थल ब्यानरले भरिभराउ छन्। निर्वाचन स्थलकै आसपासमा मतदाताको लागि खानाको प्रबन्ध गरिएको थियो। प्यानल अनुसार फरक/फरक मेस सञ्चालन गरिएका छन्।
दाङका तीन संघीय सभापति पदका लागि ७ जनाका बीचमा प्रतिस्पर्धा भएको छ।
निर्वाचन क्षेत्र नं. ३ मा सभापति पदका तीन जनाका बीचमा प्रतिस्पर्धा भइरहेको छ। सबभन्दा धेरै करिब साढे ८ सय मतदाता यो निर्वाचन क्षेत्रमा छन्।
यहाँ संस्थापन प्यानलबाट सुरेन्द्रबहादुर खड्का, संस्थापन इतरबाट हालका संघीय सभापति जगतबहादुर खड्का र एकल रूपमा नेता किरण शाह मैदानमा उत्रिएका छन्।
क्षेत्र नम्बर ३ को निर्वाचमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, जिल्ला सभापति कीर्तिबहादुर खड्का, जिल्ला सचिव शंकर डाँगी, लुम्बिनी प्रदेश सभा सदस्य शंकर गिरी, पूर्व सांसद गेहेन्द्र गिरी, पूर्व जिल्ला सभापति घनश्याम रेग्मी लगायतका नेताहरूको निर्वाचन क्षेत्र हो। सबै नेताहरू मतदान स्थलमा पुगेर मत मागिरहेको देखिन्थे।
त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा सभापति पदमा संस्थापन पक्षबाट भीमप्रकाश खड्का र संस्थापन इतरबाट चित्रबहादुर डाँगी (निर्मल) का बीचमा प्रतिस्पर्धा भइरहेको छ।
दाङ निर्वाचन क्षेत्र नं. १ मा संस्थापन पक्षधर भेषराज पाण्डे र संस्थापन इतरका मानिने सर्वजित डिसी सभापति पदमा भिडेका छन्।
क्षेत्र नं. ३ मा किरण शाहबाहेक अरू सबैले प्यानल खडा गरी निर्वाचनमा होमिएका छन्।
जिल्लाको मत परिणाम केही मध्य रातिसम्म र केही मतपरिणाम बुधबार बिहानसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।