दाङबाट अनुराग खड्का नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
बुधबार दिउँसो प्राप्त नतिजा अनुसार खड्काले दाङको निर्वाचन क्षेत्र नं. १ मा खुल्ला (प्रत्यक्ष) तर्फबाट २१ प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी ४९७ मत प्राप्त गरि निर्वाचित भए।
दाङको निर्वाचन क्षेत्र नं. १ मा कुल ६९४ मतदाता मध्ये ६८५ जनाले मत खसाएको थियो।
खड्का पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुन्। जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा जित्ने खड्का सबैभन्दा कान्छो उमेरका ब्यक्ति हुन्। उनी जम्मा २८ वर्षका छन्।
जितपछि अनुरागले सेतोपाटीसँग कुरा गर्दै आफूले बुवाकै कारणले लोकप्रिय मत पाएको जिकिर गरे। ‘आज मैले पाएको मत मेरो हैन, मेरो बुवाको मत हो,’ अनुरागले भने ‘यो मेरो बुवाप्रति मतदाताले देखाएको सम्मान हो।’
उनले राजनीतिक रूपमा आफू बुवाकै बाटोमा हिँडेको भन्दै त्यसैको सम्मान स्वरूप मतदाताले आफूलाई मत दिएको बताए।
‘प्राप्त मतले म प्रफुल्ल छु र मतदाताले दर्शाएको सम्मानलाई म जहिलै उहाँहरुको शिर ठाडो हुने गरि काम गर्न प्रयत्न गर्नेछु,’ अनुरागले भने।
दाङ निर्वाचन क्षेत्र नं. १ नेता खुमबहादुरको गृह नगर हो। सशस्त्र द्धन्दको समयमा माओवादीले खड्काको सतवरियास्थित घर बम हानेर ध्वस्त पारिदिएका थिए। गत वर्ष मात्रै अनुरागले लमही नगरपालिका वडा नं. ८ सतबरियामा पुनः घर निर्माण गरि सक्रिय राजनीति थालेका थिए।
सबैभन्दा लोकप्रिय मत दिएर निर्वाचित गराएकोमा मतदातालाई धन्यवाद दिदै उनले भविस्यमा पनि यस्तै साथ र सहयोग गर्न आग्रह गरे।
उनले नेता तथा आफ्ना मतदातासँग परामर्स गरि महासमिति सदस्यमा उठ्नेबारे निर्णय गर्ने योजना रहेको बताए।
‘यदि सबै अग्रज नेताले साथ दिनुभएछ भने म महासमिति सदस्यमा उम्मेदवारी दिन चाहन्छु र त्यसमा पनि सफलता मिले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन चाहन्छु,’ खड्काले भने।
उनकी आमा शिला गौतम खड्का पनि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्। यसअघि खड्का आफ्नो वडाबाट सर्वसम्मत वडा क्षेत्रीय प्रतिनिधिमा चयन भएका थिए।