रूसी राष्ट्रपति भ्लादमिर पुटिन भारत भ्रमणमा आएका छन्। सोमबार साँझ उनी केही घन्टाको भ्रमणका लागि नयाँदिल्ली पुगेका हुन्।
भारत- रूस वार्षिक सम्मेलनमा भाग लिन पुटिन दिल्ली आएका हुन्।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन्। सन् २०१९ को अन्तिममा कोरोनाभाइरसको महामारी सुरू भएपछि रूसी राष्ट्रपति पुटिन दोस्रो पटक विदेश भ्रमणमा निस्किएका हुन्।
पुटिन नयाँदिल्ली पुग्नुअघि रूस र भारतका रक्षा र विदेश मन्त्रीको बैठक दिल्लीमा सम्पन्न भएको थियो।
उक्त बैठकपछि रक्षासम्बन्धी महत्वपूर्ण दुई सम्झौतामा हस्ताक्षर भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।
सम्झौतअनुसार भारतले रूसी प्रविधि प्रयोग गरी एके-२०३ एसल्ट राइफल आफ्नै देशमा उत्पादन गर्नेछ भने रूस-भारतको रक्षा क्षेत्रको सम्झौता सन् २०३१ सम्म लागु रहनेछ।
केही घन्टा दिल्लीमा बिताएर पुटिन आजै राति स्वदेश फर्किने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।