नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रवृत्तिविरूद्ध घन ठोक्न आग्रह गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा आयोजना भएको दंगाली कम्युनिष्ट नेता स्वर्गीय श्रीमनी आचार्यको १४ औं सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रचण्ड र नेपाललाई अवसरवादको संज्ञा दिँदै आगामी निर्वाचनमा उनीहरूको प्रवृत्तिका विरूद्ध घन ठोक्न आह्वान गरेका हुन्।
'परिवर्तनका ठूला–ठूला कुरा गर्ने र आफ्नो स्वार्थमा धक्का पुग्यो भने सबभन्दा बढी परिवर्तन विरोधी जो छ उसैकासामु लम्पसार पर्ने माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको प्रवृत्तिविरूद्ध विजय हासिल गर्न जरूरी छ,’ पोखरेलले भने, ‘यो प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलन भाग्य र भविष्यविरूद्धको प्रवृत्ति हो।’
प्रचण्ड-नेपालले जनतासँग भोट माग्दा नेपाली कांग्रेसलाई हराऔं भनेर मागे पनि जितेपछि कांग्रेसलाई प्रधानमन्त्री बनाउन हिँडेको हुँदा उनीहरू कम्युनिष्ट आन्दोलनविरूद्ध रहेको उनले बताए।
‘यस्तो प्रकारको जनमतमाथि गद्दार गर्ने नेताहरूलाई सजाय नदिने हो भने भोलि फेरि अवसरवाद टाउको उठाएर सामुन्ने आउन सक्छ,’ महासचिव पोखरेलले भने, ‘त्यसैले त्यस प्रकारको दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्न जरूरी छ।’
महासचिव पोखरेलले प्रचण्ड-नेपाललाई कम्युनिष्ट विरोधी बैरीको संज्ञा पनि दिएका थिए।
उनले नेकपा एमालेलाई अनुशासित र अराजकताविहीन पार्टीको रूपमा विकास गर्न चाहेको बताए।
नेपालमा अब 'भुरेभारे' पार्टी अन्त्य गर्नुपर्ने भन्दै महासचिव पोखरेलले सबै पार्टीमा भएका देशभक्त कार्यकर्ताहरूलाई नेकपा एमालेमा समाहित हुन आग्रह गरे।
पोखरेलले नेपाली कांग्रेसको नेतृत्व गरिरहेका शेरबहादुर देउवा र एमालेको नेतृत्व गरिरहेको केपी शर्मा ओली दुई कित्तामा मात्रै राष्ट्रिय राजनीति विभक्त भएको हुँदा अन्य 'भुरेभारे' पार्टीको औचित्य नरहेको तर्क गरे।
उनले आफ्नो मन्तव्यको सुरूआतदेखि नै करिब २० मिनेट अध्यक्ष ओलीको प्रशंसामा खर्चिएका थिए।
उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयन, नाकाबन्दीको अन्त्य, चुच्चे नक्सा निर्माण, चीनसँगको बिआरआई सम्झौता, नेपालमा रेल चलाउने सपना सार्थक पार्ने लगायत, भारतसँग समान हैसियत देखाउन सक्ने जनता र देशका पक्षमा काम गर्ने सच्चा देशभक्त भएकै कारण ओलीमाथि घेराबन्दी भएको जिकिर गरे।
अध्यक्ष ओलीको पालामा एक सय वर्षमा हुन नसकेको जलविद्युत विकासको काम पूरा भएको उनले बताए।
‘एक सय वर्षमा जम्मा सात सय मेगावाट विद्युत उत्पादन भएको रहेछ र केपी ओलीको पालामा एक वर्षमा एक हजार मेगाबाट विद्युत उत्पादन भएको इतिहास छ,’ उनले भने, ‘दैनिक १८ घन्टाको लोडसेडिङ केपी ओलीकै पालमा अन्त्य भएको हो।’
त्यस्तै उनले राजा महेन्द्रलाई एउटा पूर्व-पश्चिम राजमार्ग निर्माण गरेकै भरमा राष्ट्रवादी भन्ने गरिएकोप्रति असन्तुष्टि जनाउँदै एमाले महासचिव पोखरेलले ओलीको पालामा त्यस्ता राजमार्गहरू चार वटा निर्माण भएको हुँदा ओली बढी राष्ट्रवादी र विकासप्रेमी रहेको जिकिर गरे।
महासचिव भएपछि पहिलो पटक गृह जिल्ला दाङमा आएका नेता पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा दाङमा विकासको लहर नै ल्याएको चर्चा पनि गरे।
‘कुनै जमाना थियो, बाटोमा डोजर गुडाउँदा पनि विकासप्रेमी नेताको संज्ञा दिइन्थ्यो,’ उनले भने, ‘आज-हिजो हामीले उनीहरूले खोलेको ट्रयाकहरू सबै कालोपत्रे गरेका छौं, तै पनि हामीले विकासप्रेमी भन्न किन नसक्ने।’