दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षीय गाब्रिएल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनी चिलीको राष्ट्रपति बन्ने सबैभन्दा कान्छा व्यक्ति हुन्।
चिलीमा राष्ट्रपति बन्न ३५ वर्ष पुगेकै हुनुपर्छ। चुनावी अभियान सुरू गर्दा बोरिक ३४ वर्षका थिए।
द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपतिका लागि भएको चुनावको ९८ प्रतिशत मतगणना हुँदा बोरिकले ५५ प्रतिशत पाएका छन् भने उनका प्रतिष्पर्धी जोस एन्टिनिओ कास्टले ४४ प्रतिशत मत ल्याएका छन्। कास्टले सामाजिक सञ्जालमार्फत् हार स्वीकार्दै बोरिकलाई बधाई दिइसकेका छन्।
चिलीका सडकमा बोरिकका समर्थकले आइतबार राति खुसीयाली मनाएका छन्।
विद्यार्थी राजनीतिबाट उदाएका बोरिक प्रगतिशील वामपन्थी विचारधाराका हुन्। विद्यार्थी राजनीतिमा हुँदा उनले न्यून आय भएका विद्यार्थीहरूलाई नि:शुल्क शिक्षाको व्यवस्था गर्न दबाब दिएका थिए।
उनी २०१४ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए।
राष्ट्रपतीय चुनावी अभियानमा उनले धनीहरूलाई कर बढाउने, चिलीको असमानता घटाउने, पछि पारिएका समुदायको हित हुने गरी नीति बनाउने, जलवायु परिवर्तनलाई प्राथमिकतामा राखेर इन्धनमा कर थप्नेलगायत एजेन्डा अघि सारेका थिए।
जितपछि बोरिकले चिलीलाई एकतावद्ध गर्ने र सबैको राष्ट्रपति बन्ने बताएका छन्। १ करोड ९० लाख जनसंख्या भएको चिलीमा राष्ट्रपतीय चुनावका क्रममा समर्थकहरूबीच ठूलो विभाजन भएको थियो। दुई उम्मेदवार भावी राजनीतिबारे दुई ध्रुव थिए।
‘आज डरमाथि आशाको विजय प्राप्त भएको छ। म चिलीलाई एकतावद्ध गर्नेछु र सबै चिलीवासीको राष्ट्रपति बन्नेछु,’ उनले भनेका छन्।
शरीरमा ट्याटु खोपेका बोरिक टाई लगाउन मन पराउँदैनन्। उनले आफ्नो स्वास्थ्यबारे पनि सार्वजनिक रूपमा बोल्ने गरेका छन्।
चिली सन् १९९० मा सैनिक शासनबाट प्रजातान्त्रिक व्यवस्थामा प्रवेश गरेको हो।
बोरिकले आगामी मार्चमा राष्ट्रपतिको पदभार सम्हाल्ने छन्। त्यसपछि उनी चार वर्ष राष्ट्रपति बन्नेछन्।