प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आज जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशनका सम्बन्धमा बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ।
आयोगको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेकाले बैठक स्थगित भएको हो। उनी आयोगमा सदस्य छन्।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा लोक सेवा आयोगका अध्यक्ष उपत्यका बाहिर रहेको र बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गर्नुपरेको उल्लेख छ।
उक्त आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, महान्यायाधीवक्ता र लोक सेवा आयोगका अध्यक्ष रहने कानुनी व्यवस्था छ।
आयोगले २०७८ साउन १९ गते आन्तरिक, महिला, खुला, आदिवासी जनजाति र मधेसी गरी १८ जिल्ला न्यायाधीशको विज्ञापन गरेको थियो।
लोक सेवा आयोगले लिएको उक्त परीक्षाको लिखित परिणामपछि मौखिक अन्तर्वार्तासमेत लिनुपर्ने भएकाले परिषद्को बैठक बोलाइएको थियो।