भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाई आफूहरूका लागि माता समान भएको बताएका छन्।
बिहीबारआफ्नो निर्वाचन क्षेत्र उत्तर प्रदेशको वराणसीमा विभिन्न परियोजनाहरूको शिलान्यास गर्दै मोदीले गाईलाई पाप ठान्नेहरूले करोडौं मानिसको जीवन बस्तुभाउ सँग जोडिएको कुरालाई महशुस नगरेको बताए।
उत्तर प्रदेशमा आउने फेब्रुअरीमा विधान सभाको चुनाव हुँदैछ। चुनावको मुखैमा मोदीले २ हजार ९५ करोड भारूका २७ वटा परियोजनाको शिलान्यास र उद्घाटन गरेका हुन्।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार विपक्षी पार्टीहरूलाई संकेत गर्दै मोदीले गाई र भैंसीबारे मजाक गर्नेहरूले करोडौं नागरिकहरू पशुधनमा आश्रित भएको कुरालाई बिर्सेको बताए।
‘गाई माता हुन् र हाम्रा लागि पूज्य छन्,’ मोदीले भने,‘तर कतिलाई यो पापको विषय लाग्छ।’
मोदीको भारतीय जनता पार्टी हिन्दुत्ववादी पार्टी हो। हिन्दु धर्ममा गाईलाई पूजा गर्ने चलन छ।