भारतको राजधानी दिल्लीमा प्रदेश सरकार चलाइरहेको आम आदमी पार्टी (आप) अर्को राज्य पञ्जाबमा पनि उपस्थिति जनाएको छ।
शुक्रबार भएको चन्डीगढको नगर चुनावमा आपले केही वडामा चुनाव जितेको छ भने केहीमा उसका उम्मेदवारले अग्रता लिइरहेका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार सोमबार दिउँसोसम्म ३५ मध्ये २९ सिटको मतपरिणाम आएको छ। जसमा आपले १३ सिटमा जितेको छ। भारतीय जनता पार्टीले १०, कंग्रेस आईले ५ र सिरोमनी अकाली दलले १ सिट हात पारेका छन्।
पञ्जाबमा केही महिनापछि विधान सभाको चुनाव हुँदैछ। विधान सभाको चुनावअघि स्थानीय तहको चुनाव भएको हो।
चन्डीगढमा यसअघि भारतीय जनता पार्टी र कंग्रेस आईको दबदबा थियो। यसपालि आपले यी दुई दललाई धक्का दिएको छ।
चन्डीगढका मेयर रहेका भाजपाका रविकान्त शर्मा आपका उम्मेदवारसँग पराजित भएका छन्। पूर्वमेयर तथा भाजपाका अर्का नेता डेभेस मौडगिल पनि हारेका छन्।
आपले पहिलो पटक चन्डीगढको चुनाव लडेको हो। आपका बरिष्ठ नेता तथा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले चन्डीगढवासीले आपलाई भव्य स्वागत गरेको बताएका छन्।
‘यसका लागि म हरेक मतदाता र पार्टी कार्यकर्तालाई धन्यवाद दिन्छु,’ सिसोडियाले भने।
दिल्लीमा कसरी उदाएको थियो आप?
आपले सन् २०१३ को दिल्ली विधानसभा चुनावमा १५ वर्षदेखि शासन गरिरहेको कंग्रेसलाई हराएको थियो। आपका अध्यक्ष अरबिन्द केजरीवाल हुन्। हरियाणामा जन्मेका केजरीवालले मेकानिकल इन्जिनियर पढेका हुन्। राजनीतिमा आउनुअघि उनी कर अधिकृत थिए। उनले रोमन म्यागासेस पुरस्कार पनि पाएका छन्।
सन् २०१२ मा पार्टी दर्ता गर्नुअघि केजरीवाल अधिकारको आन्दोलनमा होमिएका थिए। अन्ना हजारे, किरण वेदीसहितको केजरीवालको समूहले सन् २०११ मा दिल्लीमा जनलोकपाल विधेयक माग्दै चलाएको आन्दोलनले धेरै चर्चा र जनसमर्थन पाएको थियो।
त्यतिबेला केन्द्रमा सरकार चलाइरहेको कंग्रेसले विधेयक कुनै आन्दोलनका आधारमा नभई जनताले चुनेका प्रतिनिधिले बनाउने जवाफ फर्काएको थियो। त्यसपछि केजरीवाल आफूले चाहे अनुसारको परिवर्तन गर्न राजनीतिमा होमिने निष्कर्षमा पुगेका थिए। उनको यो निर्णयमा अन्ना हजारे असहमत थिए। त्यसका बावजुद केजरीवालले सन् २०१२ को नोभेम्बरमा आम आद्मी पार्टी स्थापना गरे। २०१३ को मार्चमा वैधानिक रुपमा पार्टी निर्वाचन आयोगमा दर्ता भयो।
सन् २०१३ को दिल्ली विधानसभा चुनावमा ७० मध्ये २८ सिट जितेर आप र अरविन्द केजरीवाल दिल्लीको राजनीतिमा ‘अल्टरनेटिभ’ शक्तिका रुपमा स्थापित भए। त्यतिबेला १५ वर्षदेखि दिल्लीमा शासन गरिरहेको कंग्रेस ८ सिटमा खुम्चियो। भारतीय जनता पार्टीले ३१ सिट पायो। कंग्रेसले केजरीवाललाई समर्थन गरेपछि २८ डिसेम्बर २०१३ मा केजरीवाल दिल्लीका मुख्यमन्त्री बने।