दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको शनिबार हुन गइरहेको निर्वाचनका कारण नेपाली कांग्रेसभित्र आपसी किचलो सुरू भएको छ।
नौ दलीय गठबन्धनले यसअघि नेपाली कांग्रेसका नेता यमकान्त भण्डारीलाई खानेपानीमा सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको थियो।
यो टिमको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सीताराम शर्मा आचार्य, नेकपा एमालेका शेबकराम भण्डारीलाई सचिव र कोषाध्यक्षमा विप्लव नेकपाका भद्रबहादुर वलीलाई बनाउने सहमति भएको थियो।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालको पहलमा नौ दलीय सहमति कायम भएको थियो। तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुन्न हुन थालेको खानेपानीको कार्यसमितिमध्ये केही सदस्य पदमा सर्वसम्मत भए पनि नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूलाई खुला सदस्य प्रदान गरिएको छ।
कांग्रेस तुलसीपुर नगरसभापति हमाल केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी प्यानलका हुन्।
तर, यो नौ दलीय गठबन्धनविरूद्ध नेपाली कांग्रेसमा पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित गेहेन्द्र गिरीको टिमले असन्तुष्टि जनाउँदै पदाधिकारीमा छुट्टै उम्मेदवार खडा गरेको छ।
यो टिमबाट वडा क्षेत्रीय प्रतिनिधि तथा यातायात व्यवसायी पवनराज बुढाथोकी अध्यक्ष, वडा क्षेत्रीय प्रतिनिधि र अहिलेका पनि उपाध्यक्ष गिरीधारी प्रशाद पौडेल उपाध्यक्ष र क्रियाशील सदस्य भोलाप्रसाद थापा कोषाध्यक्ष पदमा उम्मेदवार बनेपछि कांग्रेसभित्र किचलो सुरू भएको हो।
निर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार नेता दीपक गिरी प्यानलका दाङ निर्वाचन क्षेत्र नं. ३ का संघीय सभापति जगतबहादुर खड्का, निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेश सभापति देवेन्द्र रिजाल र ३ (ख) का सभापति खिमबहादुर वली र तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले संयुक्त विज्ञप्तिमार्फत् बुढाथोकीको प्यानललाई बागी उम्मेदवारको संज्ञा दिँदै कारबाहीको माग गरेको छ।
नेपाली कांग्रेसको विधान र अनुशासनभन्दा बाहिर गएर पार्टीको हितविपरीत कार्य गरेको भन्दै बुढाथोकीलगायत पदाधिकारीका उम्मेदवारी दिएका आरोपसहित पार्टीको साधारण सदस्यता समेत खारेज गर्दै पार्टीको कुनै पनि पदमा समेत नरहने गरी कारबाहीको माग गरिएको छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति समक्ष उनीहरूले त्यस्तो माग गर्दै विज्ञप्ति प्रकाशित गरेपछि कांग्रेसजनभित्र आपसमा किचलो सुरू भएको छ।
उनीहरूले लुम्बिनी प्रदेश कार्यसमितिलाई पनि बोधार्थ आग्रह गरेका छन्।
कांग्रेसको १४ औं महाधिवेशनबाट जिल्लामा शंकरप्रसाद डाँगी र प्रदेशमा पनि अमरसिंह पुन: निर्वाचित भएका छन्। उनीहरू सबै नेता दीपक गिरी प्यानलका हुन्।
दाजु-भाइबीचको टकरावले कांग्रेस दाङको राजनीति सधैं तरंगित
पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित तुलसीपुरका गेहेन्द्र गिरी र यसअघिदेखि नै केन्द्रीय सदस्य तथा मन्त्री पनि भइसकेका दीपक गिरी नाताले दाजुभाइ हुन्। उनीहरू भाइ भाइका छोरा हुन्। गेहेन्द्र दाजु हुन् भने दीपक भाइ हुन्।
तर, यी दुई दाजुभाइ बीचको टकरावले विगतदेखि नै कांग्रेस दाङमा तरंग पैदा हुँदै आएको छ।
गेहेन्द्र गिरी संस्थापन पक्षधर हुन्। उनले आफूलाई राजनीतिक रूपमा स्वर्गीय नेता खुमबहादुर खड्काको असली अनुयायी मान्ने गर्छन्। तर, नेता दीपक गिरी संस्थापनइतरका हुन्। उनी विशेष गरी नेता शशांक कोइरालासँग निकट छन्।
त्यही कारण जिल्लामा हुने पार्टीगतदेखि हरेक सामाजिक संघ-संस्थाको निर्वाचनमा यी दुई दाजुभाइका अलग/अलग गुट उम्मेदवार खडा गरिँदै आएका छन्।
जिल्लामा यी दुई दाजु-भाइले नै कांग्रेसभित्र दुई धारको प्रतिनिधित्व गर्दै आएको हुँदा दाजु-भाइकै कारण हरेक निर्वाचन तरंगित हुँदै आएका छन्।
खानेपानीको निर्वाचन हुँदै गर्दा नेता गेहेन्द्र गिरीको प्यानल कांग्रेस बलियो भएको अहिलेको अवस्थामा सर्लक्कै अरू दलसँग सहमति गर्नु गलत भएको तर्क गर्छ।
कांग्रेसले पूरै पदमा उम्मेदवारी दिएमा सहजै निर्वाचन जित्न अवस्था रहे पनि अन्य दलसँग सहमति कायम गरेर सहजै पद दिनु गलत भएको यो समूहका नेताको बुझाइ छ।
तर, दीपक गिरी प्यानलका नेताहरूले भने विगत बहुमत उपभोक्ता कांग्रेसकै रहे पनि विगत २० वर्षदेखि नेतृत्व जित्न नसकेको हुँदा सहमतिमार्फत् कांग्रेसलाई नेतृत्व प्रदान गर्ने बाटोमा सफल हुनुलाई गर्व गर्नुपर्ने तर्क गर्छन्। त्यही आरोप-प्रत्यारोपका बीचमा शनिबार हुने तुलसीपुर खानेपानीको निर्वाचन कांग्रेसभित्रका दुई गुटको जुंगोको लडाइँ बन्न पुगेको छ।
दुबै पक्ष आफ्नो टिमलाई विजयी बनाउन संसदीय चुनावको झझल्को दिने गरी माइकिङ र प्रचार प्रसारमा व्यस्त देखिएका छन्।
तुलसीपुर खानेपानीका झन्डै ८ हजार १ सय ६५ उपभोक्ता छन्। तर, त्यसमध्ये निर्धारित समयमा महशुल बुझाएका करिब ७ हजार ५ सय जतिले मात्रै मताधिकार पाएका छन्।