फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा दाङमा पच्चीस हजार पाँच सय मतदाता थपिएका छन्।
पहिलो चरणअन्तर्गत बङ्गलाचुली, बबई, शान्तिनगर र दंगीशरणमा गत मंसिर १७ देखि यही पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली संकलन गरिएको निर्वाचन कार्यालय प्रमुख निमराज भट्टराईले जानकारी दिए।
पालिकाका प्रत्येक वडामा फरक-फरक समयमा पालैपालो मतदाता नामावली संकलन गरिएको थियो।
दोस्रो चरणको मतदाता नामावली संकलन पुस ४ देखि पुस १८ गतेसम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा गरिएको उनले बताए।
घोराहीको प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमही र तुलसीपुरको इलाका प्रशासन कार्यालयबाट फोटोसहितकोे मतदाता नामावली संकलन भइरहेको छ।
बसाइसराइ र विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली संकलन हुने भट्टराईले जानकारी दिए। उनका अनुसार दैनिक पाँच सयदेखि नौ सयसम्मको नाम दर्ता हुँदै आएको छ।
विशेष अभियान सुरू हुनुपूर्व दाङमा तीन लाख ७७ हजार पाँच मतदाताले आफ्नो नाम दर्ता गराएका थिए।
पछिल्लो समय थप भएका २५ हजार ५०० सहित चार लाख तीन हजार मतदाता सङ्ख्या पुुगेको छ। नामावली दर्ता गर्न छुटेका, १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त गरेका सबैलाई नामावली दर्ता गर्न प्रमुख भट्टराईले आग्रह गरेका छन्।